जसपाका सांसद तामाङ कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौँ – रसुवाबाट निर्वाचित जसपाका सांसद प्रेमबहादुर तामाङ कांग्रसको माधिवेशन प्रतिनिधि चयन भएको पाइएको छ।

२०७४ सालको प्रदेशसभा चुनावमा कांग्रेससँगको गठबन्धनमा नयाँ शक्तिबाट निर्वाचित तामाङ अहिले जसपाका बागमति प्रदेशसभा सदस्य छन्। तर उनी यो कार्यकाल सकिने वित्तिकै कांग्रेसबाट राजनीति गर्ने तयारीमा छन्।

यसले गर्दा तामाङले जसपाको सांसद हुँदाहुँदै भित्रभित्रै कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएको सार्वजनिक भएको हो।

कांग्रेस महाधिवेशन प्रतिनिधि भएको बताउन नचाहे पनि मंगलबार तामाङ महाधिवेशन प्रतिनिधि भएको घोषणा कांग्रेसले गरेको थियो।

भलै उनी प्रतिनिधि भएको प्रमाणपत्र लिन भने नगएको कांग्रेसका जिल्लास्तरीय नेता बताउँछन्। कांग्रेस मुख्य निर्वाचन अधिकृत शर्मिला थापाले मंगलबार तामाङको नाम अरु महाधिवेशन प्रतिनिधिसँगै वाचन गरेकी थिइन्।

एउटा दलबाट निर्वाचित सांसदले अर्को पार्टीको सदस्यता लिएमा स्वत दल त्याग आकर्षित भई पद गुम्ने कानुनी व्यवस्था छ। रसुवामा राम्रो जनाधार भएका प्रेमलाई कांग्रेसले आफ्नो पार्टीमा भित्र्याउन कोसिस गरिरहेको छ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्