‘ओमिक्रोन’का कारण दक्षिण अफ्रिका र हङकङ गरी नौ देशका यात्रुलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ- सरकारले दक्षिण अफ्रिकासहित ८ वटा देश र हङकङ गरी नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ।

मन्त्रिपरिषद्‌को बिहीबारको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रुहरु र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो।

मन्त्रिपरिषद्‌मा सहभागी एक मन्त्रीले देशसञ्चारलाई दिएको जानकारीअनुसार ती देशका यात्रुहरुलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेश गर्न अनुमति नदिने निर्णय भएको छ।

अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण त्रास फैलँदै जाँदा सरकारले ती नौ देशबाट आउने तथा ती देश ट्रान्जिट बनाई आउने यात्रुको प्रवेशमा रोक लगाएको हो।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्