म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएका खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि ३–२ को जित दर्ता गरेको हो ।

युनाइटेडका लागि ब्रूनो फेर्नान्डेसले एक तथा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । आर्सनलका लागि स्मीथ रोव र मार्टिन ओडिगार्डले गोल गरे । रोवले १३ औँ र मार्टिनले ५४ औँ मिनेटमा गोल गरेका हुन् ।

युनाइटेडका लागि ४४ औँ मिनेटमा ब्रूनो तथा ५२ र ७० औँ मिनेटमा रोनाल्डोल गोल गरेका हुन् । रोनाल्डोले दोस्रो गोल पेनाल्टी मार्फत गरेका हुन् ।

यस्तै बिहीबार राति नै भएको खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई २–० ले पराजित गरेको छ । टोटनह्यामका लागि ६५ औँ मिनेटमा सन हेङ–मिनले गोल गरे । त्यसअघि ब्रेन्टफोर्डका क्यानोसले १२ औँ मिनेटमा आत्मघाति गोल गरेका थिए ।

जितपछि टोटनह्याम १३ खेलबाट २२ अंकसहित छैटौँ र युनाइटेड १४ खेलबाट २१ अंकसहित सातौँ स्थानमा छ ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्