रोनाल्डोले गरे ८०१ गोल

क्रिष्ट्रियानो रोनाल्डो खेल जीवनमा ८०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति आर्सनलसँगको खेलमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि दुई गोल गरे ।

आर्सनललाई ३–२ ले पराजित गर्ने क्रममा रोनाल्डोले ५२ औँ मिनेटमा मार्कस राशफोर्डको सहयोगमा व्यक्तिगत पहिलो गोल गरे । सो गोल उनको खेल जीवनको ८०० औँ गोल बन्यो ।

यस्तै रोनाल्डोले ७० औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे, सो गोल उनको ८०१ औँ गोल हो । ३६ वर्षका रोनाल्ले झण्डै दुई दशक पहिले स्पोर्टिङ सिपीका लागि पहिलो गोल गरेका थिए । रोनाल्डोले क्लब र राष्ट्रिय टिमका एक हजार ९५ खेलमा ८०१ गोल गरेका हुन् ।

रोनाल्डोले म्याचेस्टर युनाइटेडका लागि आफ्नो पहिलो बसाइमा २९२ खेलमा ११८ गोल गरेका थिए । अहिले उनले १६ खेलमा १२ गोल गरिसकेका छन् ।

यस्तै उनले स्पोर्टिङका लागि ३१ खेलमा पाँच तथा रियल मड्रिडका लागि ४३८ खेलमा ४५० गोल गरेका छन् । युभेन्टसका लागि १३४ खेलमा १०१ गोल गरेका रोनाल्डोले पोर्चुगलका लागि १८४ खेलमा ११५ गोल गरेका छन् ।

उनले ८०१ गोल मध्ये ३० वर्ष लागेपछि परेका ३३८ गोल हुन् । उनले ३० वर्ष लागेपछिका ३७७ खेलमा ३३८ गोल गरेका हुन् । ३० वर्ष लाग्नुअघि उनले ७१८ खेलमा ४६३ गोल गरेका थिए ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्