ओमिक्रोन : अमेरिकाले कडा बनायो यात्रा सम्बन्धी व्यवस्था

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रणका लागि यात्रा सम्बन्धी व्यवस्थालाई कडा पारेका छन् ।

अमेरिकाका विभिन्न क्षेत्रमा ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएपछि राष्ट्रपति बाइडेनले यात्रा गर्दा अपनाउनु पर्ने सुधारिएका कडा नियमहरु सार्वजनिक गरेका हुन् ।

बाइडेनले आफ्नो योजनामा ‘सटडाउन वा लकडाउन’ को कुरा उल्लेख गरेका छैनन् । यस्तै अनिवार्य रुपमा खोप लगाउनु पर्ने पनि उल्लेख गरेका छैनन् ।

अमेरिकाको क्यालिफोर्निया, कोलोराडा, मिनेशोटा, न्यूयोर्क र हुवाईमा ओमिक्रोनका संक्रमित भेटिएका छन् । हवाईमा भेटिएका संक्रमितले हालै कुनै यात्रा गरेका थिएनन् । संक्रमितहरुमा मध्यमखालको लक्षण मात्रै देखिएको छ ।

कोरोना भाइरसको अरु भेरियन्टबाट संक्रमित भएकाहरु पनि फेरि संक्रमित भइरहेका छन् । तर खोपले ओमिक्रोनबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्नबाट भने जोगाउने विश्वास गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नोभेम्बर २६ मा नयाँ भेरियन्टको नाम ओमिक्रोन राखेको हो । यस्तै गम्भीर चिन्ताको भेरियन्टका रुपमा पनि डब्लुएचओले ओमिक्रोनलाई परिभाषित गरेको छ ।

बाइडेनले बिहीबार ल्याएको नयाँ नियम अनुसार अमेरिका प्रवेश गर्ने सबै यात्रुले उडान भन्दा २४ घण्टा पहिले कोरोना भाइरसको संक्रमण रहे नरहेको पुष्टि हुन परीक्षण गर्नु पर्ने छ ।

खोप लगाएका व्यक्तिले पनि सो परीक्षण गर्नु पर्ने उल्लेख छ । जहाज, रेल तथा बसमा यात्रा गर्दा मास्क लगाउनु पर्छ र यो नियम मार्चसम्म कायम हुनेछ ।

यस्तै खोपको बुस्टर डोजका लागि योग्यहरुलाई लगाउन उत्प्रेरित गरिने पनि बाइडेनको योजनामा उल्लेख छ। अहिलेसम्म चार करोड भन्दा बढी अमेरिकीले बुस्टर डोज लगाएका छन् । तर बुस्टर जोडका लागि योग्यको संख्या १० करोड भन्दा बढी छ ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्