काम पूरा नगर्ने कन्सलटेन्सीलाई डिभिजन वन कार्यालय पर्साद्वारा पूरा रकम भुक्तानि

वीरगञ्ज – ठेक्का दिइएको काम सम्पन्न नगरेको कन्सलटेन्सीलाई डिभिजन वन कार्यालय पर्साले १८ लाख भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ ।

डिभिजन वन कार्यालय पर्साले वनको काम गर्न ठेक्का पाएको ग्रिन नेपाल कन्सलटेनसीलाई १८ लाख ४२ हजार रकम भुक्तानी दिएको हो । भुक्तानी समेत लिएको भए पनि उक्त कन्सलटेन्सीले भने काम सम्पन्न गरेको छैन ।

कन्सलटेन्सीलाई गढीमाई र बिन्दबासिनी वन व्यवस्थापन समूहको वन कार्ययोजना तयारी, प्रारम्भिक वातावरणीय मूल्यांकन र हारभेष्टिङ प्लानको काम गर्न ठेक्का पाएको थियो ।

२०७६ साल चैत ९ मा ठेक्का सम्झौता गरी २०७७ असार १५ गतेभित्र काम सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियो । ग्रिन नेपाल कन्सलटेन्सीले आंशिक काम मात्रै गरे पनि पूरै भुक्तानी पाएको हो । यसरी काम सम्पन्न नै नगरि कार्यालयले भुक्तानी दिएपछि महालेखा परीक्षकको कार्यालयले काम नगरे बापतको रकम असुल गर्न डिभिजन वन कार्यालय पर्सालाई निर्देशन दिएको छ ।

महालेखाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनमा सम्झौता अनुसारको प्रारम्भिक वातावरणीय मूल्यांकन र हारभेष्टिङको काम पूरा नै नगरेकाले ग्रिन नेपाल कन्सलटेन्सीसँग दामासाहीले १२ लाख २८ हजार रकम असुल गर्न डिभिजन वन कार्यालय पर्सालाई निर्देशन दिएको हो ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्