युरोप पठाउने भन्दै लाखौँ रकम लिएर म्यानपावर सञ्चालक भागे, युवाहरुको विचल्ली

जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेका पीडित ।

नेपालगञ्ज – नेपालगञ्ज जैसपुरका राजु पठानले क्रोसिया जानका लागि म्यानपावर कम्पनीलाई ७ लाख ७० हजार रुपैयाँ बुझाए ।

हेलो ह्युमन रिसोर्सेज कम्पनीका मार्केटिङ म्यानेजर रविकुमार यादवले तीन महिनाभित्र क्रोसिया पठाइदिने विश्वास दिलाएपछि पठानले ऋण–सापट गरेर पैसा जुटाएका थिए ।

म्यानपावर कम्पनीका मार्केटिङ म्यानेजर यादवले तीन महिना भनेको मंसिरको २५ गते पुग्थ्यो । क्रोसिया जान पाउने भन्दै पठानको खुशी थिए । आफन्तहरुमा पठान युरोपको देश क्रोसिया जान थालेको हल्ला फैलिसकेको थियो । तर मंसिर १२ गतेदेखि यादव ‘सम्पर्कबिहीन’ भएपछि पठान छाँगाबाट खसेजस्तो भएका छन् ।

बाँके जानकीका समसुद्दिन खाँका तीन भाइ पनि क्रोसिया जाने तयारीमा थिए । समसुद्दिन, निजामुद्दिन र मैनुदिनले जनही ८० हजार रुपैयाँ बुझाएका थिए । कम्पनीले सुरुमा ८० हजार, जाने बेलामा एक लाख २० हजार दिनु पर्ने र पुगिसकेपछि २ लाख ३० हजार दिनु पर्ने भनेको थियो । समसुद्दिनका तीन भाइ पनि म्यानपावरबाट ठगिए ।

जानकीकै ओमकार हरिजनले ९५ हजार म्यानपावरलाई बुझाएका थिए । मंसिर २० गते उडाउने बताइरहेको म्यानपावर कम्पनीका मार्केटिङ म्यानेजर यादव मंसिर १२ गतेदेखि नै फरार छन् ।

पठान, समसुद्दिनका दाजुभाइ, ओमकारलगायत ४० भन्दा बढी युवा जिल्ला प्रशासन कार्यालय बाँके गएर आफूहरु ठगिएको उजुरी दिएका छन् । यादव भागेपछि उनीहरु नेपालगञ्जको न्यूरोडमा रहेको म्यानपावर कम्पनीको कार्यालयमा गएर त्यहाँ रहेका सबैको पासपोर्ट लिएर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ५० जनाबढीको पासपोर्ट बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले प्रशासन हाताभित्र राखेर आफ्नो पासपोर्ट खोजेका थिए । धेरैले आफ्नो पासपोर्टसमेत फेला पारेनन् ।

म्यानपावरले कतिपयलाई तीन महिनाभित्र उडान भएन भने आफ्नो पैसा लिनु भनेर चेक पनि दिएको छ । ९५ हजार रुपैयाँ बुझाएका ओमकार १२ गते नै म्यानपावर कम्पनीका अधिकारी यादव फरार भएपछि तीनपटक बैंकमा पुगे । चेक साटिएन । ‘बैंकमा तीनपटक गएँ’, ओमकारले भने, ‘बैंकले पैसा छैन भन्दै फिर्ता पठाइरहेको छ ।’

जैसपुरका पठानले बाँकेका तीन सय बढी युवालाई म्यानपावरले ठगेको बताए । ‘हामी त ठगियौँ । प्रहरीले म्यानपावरका मान्छेलाई खोजेर हाम्रो पैसा फिर्ता गराइदिनु प¥यो’ पठानले भने, ‘आफन्ती र अरुसँग ऋण र सापट गरेर पैसा बुझाएका थियौ ।’

पीडितले म्यानपावरका तीनजना तल्लोस्तरका कर्मचारीलाई समातेर जिल्ला प्रशासन कार्यालय पुर्‍याएका थिए । तीमध्येका आरिफ खानले कार्यालयका हाकिम यादव कहाँ छन् भन्ने आफूहरुलाई थाहा नभएको बताए ।

जिल्ला प्रशासन कार्यालय पुगेका पीडित र उनीहरुले त्यहाँ देखाएका पासपोर्ट हेर्दा म्यानपावर कम्पनीले तीन सय बढीलाई ठगेको देखिन्छ । युवाहरुको रकम ठगेर यादव फरार रहेका छन् । यादव कपिलवस्तु या रुपन्देहीका हुन् भन्ने यकिन छैन । उनको नागरिकता नै दुईवटा रहेको पाइएको छ । एउटामा रविकुमार यादव बर्गेली रुपन्देही र अर्कोमा सुखनन्दन यादव शिवपुर कपिलबस्तु रहेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले म्यानपावर कम्पनीको पदाधिकारीको खोजी भइरहेको जानकारी दिए । ‘हेलो ह्युमन रिसोर्सेजले धेरै जनालाई विदेश पठाइदिन्छु भनेर पैसा ठगेको पाइएको छ, उसलाई खोज्न मैले प्रहरीलाई निर्देशन दिइसकेको छु’, प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘उसलाई समातेर ल्याएपछि कति जना ठगिएका छन् । पत्ता लाग्छ ।’

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्