कांग्रेस अधिवेशन : सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयनमा सकस

धनगढी – नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलोपटक हुन लागेको प्रदेश अधिवेशन अन्तर्गत सुदूरपश्चिममा नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ ।

सुरुवाति चरणमा देउवा पक्षबाट प्रदेश सभापतिका लागि ५ भन्दा बढी समूह आकांक्षी रहेको सुदूरपश्चिममा शुक्रबार भने संस्थापन इतर समूहले पनि प्यानल निर्माण गरेर प्रतिस्पर्धा गर्न खोजेका छन् ।

देउवा समूहमै रहेको कांग्रेस सुदूरपश्चिमका प्रभावशाली नेता रमेश लेखक र एनपी साउदको तीव्र प्रतिस्पर्धा कारण मनोनयन दर्ता हुने दिन शुक्रबार संस्थापन इतर समूह आफ्नो टिम बनाएको छ ।

सुदूरपश्चिम सभापतिका लागि रमेश लेखक समूहबाट कैलालीका नरनाराण्या शाह (मनु) हिमबहादुर रावल, डोटीका पुष्पकुमार शाही, बझाङका अर्जुन बहादुर सिंह उम्मेदवार छन्, भने एनपी साउँद समूहबाट अछामका गोविन्द बहादुर शाहाले उम्मेदवारी दिने घोषणा गरेका थिए । पाँचजना आकांक्षी देखिएपछि कांग्रेस सभापति शेर बहादुर देउवाले उनीहरुको विकल्पमा थप दुईजनाको नाममा सहमति गर्ने केन्द्रबाटै निर्देशन दिएको बुझिएको छ ।

देउवाले डडेल्धुराका गोविन्द बहादुर बोहरा र डोटीका वीरबहादुर बलायरलाई उम्मेदवार तोक्दै दुई मध्य एक जनामा सहमति गरेर प्रदेश सभापति छान्न दिर्नेशन दिएका छन् ।

तर उनीहरुमा पनि सहमति जुट्न नसक्दा सुदूरपश्चिममा कमजोर मानिएको संस्थापन इतर समूहले अर्को साझा उम्मेदवारका रुपमा अघि सारेको छ । संस्थापन इतर समूहले कैलालीका नारायण दत्त मिश्रलाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ । मिश्र अहिले आफ्नो टिम बनाउन व्यस्त छन् ।

सुदूरपश्चिमको बैतडी, दार्चुला र बाजुरामा मात्रै संस्थापन इतर समूह हावी रहेको छ । अन्य ६ जिल्लामा देउवा समूह बलियो छ ।

सभापतिमा ७ जना भन्दा बढी आकांक्षी भए पनि सुदूरपश्चिममा बिहान ८ बजेदेखि सुरु हुने भनिएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया समेत दिउँसो २ बजे सम्मका लागि सारिएको छ । दुई बजेसम्म सहमति हुन नसकेमा कांग्रेस प्रदेश सभापतिका लागि आधा दर्जन बढी उम्मेदवार विच प्रतिष्पर्धा हुने देखिएको छ ।

कांग्रेस प्रदेश अधिवेशनले १ जना सभापति, २ जना उप–सभापति, २ जना महामन्त्री, एक महिला सहित ३ जना महामन्त्री चयन गर्ने छ । यसैगरी सदस्य खुला तर्फ तीन महिला सहित ११ जना, भूगोल तर्फ त्यत्यक जिल्लाबाट एक मसिहला सहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट १ महिलासहित तीन जना, मधेसी कोटाबाट १ जना, थारु कोटाबाट १ महिला र २ खुलागरी ३ जना, मुस्लिमबाट १, अपाङ्गता भएका १ जना सहित ५९ सदस्यीय प्रदेश समिति चयन गर्ने छ ।

अधिवेशनमा नौ जिल्लामा पर्ने १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेशसभा क्षेत्रबाट गरी साढे नौ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा कानून मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।

मुल आयोजक समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिति बिस्तार गरेको छ । त्यस्तै, कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति तथा अन्य सात वटा उपसमिति समेत गठन गरिएका छन् ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्