दुई आकांक्षीकै सहमतिमा देउवा पक्षबाट प्रदेश २ मा उम्मेदवारी दिने कृष्णाको घोषणा

जनकपुरधाम – कांग्रेस प्रदेश २ का सभापतिमा कृष्णा यादवले उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रदेश सभापतिका लागि चार जना आकांक्षीमध्ये अन्य दुई आकांक्षीकै सहमतिमा यादवले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै रौतहटका जिल्ला सभापतिसमेत रहेका यादवले देउवा समूहबाट उम्मेदवारी दिने घोषणा गरेका हुन्।

प्रदेश सभापतिका आकांक्षी महोत्तरीका जिल्ला सभापति महेन्द्र यादव, सप्तरीका सभापति दिनेश यादव, धनुषाका रामसरोज यादव र रौतहटका कृष्णा यादव रहेकामा रामसरोजबाहेक सबै आकांक्षी एक भएका हुन्। यद्यपि, उम्मेदवारी घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सप्तरीका सभापति अनुपस्थित थिए।

महोत्तरीका सभापति, प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजाल, आनन्द ढुंगाना, महेन्द्र यादव, चित्रलेखा यादवको उपस्थितिमा कृष्णा यादवले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नेता रिजालले पौडेल पक्षलाई समेत समेट्ने प्रयास भइरहेको बताए। उनले पौडेप पक्षकै लागि अहिले पूरा प्यानल घोषणा नगरेको समेत बताए। उनले भने, ‘हामी पौडेल पक्षसँग पनि छलफलमा छौँ। सहमति भएर सँगै अधिवेशनमा जान्छौँ। तर, सभापतिमा भने कृष्णा नै रहेछन्।’

प्रदेश २ मा अब शेरबहादुर देउवा र विमलेन्द्र निधिपक्ष प्रतिस्पर्धी भएका हुन्। निधि पक्षबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका रामसरोज यादवले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

 

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्