जब आफ्नो बैंक अकाउन्टबाट ५० हजार २ सय रुपैयाँ निकालेको ‘म्यासेज’ आयो

सांकेतिक तस्बिर

काठमाडौं- काठमाडौंमा बसेर एमबिबिएसको तयारी गरिरहेका महोत्तरीको सम्सीका २६ वर्ष युवक गत कात्तिक ७ गते झसङ्ग भए जब उनले आफ्नो बैंक अकाउन्टबाट ५० हजार २ सय रुपैयाँ झिकिएको म्यासेज पाए।

बैंकबाट १० हजार रुपैयाँ निकालेका ती युवकको मोबाइलमा थप ५० हजार २ सय रुपैयाँ काटिएको म्यासेज आएपछि आत्तिदै प्रहरी कार्यालय पुगे। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गम्भीररुपमा अनुसन्धान अगाडि बढायो। अनुसन्धानका क्रममा नेपाल पेमेन्ट सोलुससन-एनपीएस नामक अनलाइन भुक्तानी माध्यममार्फत ती युवकको खाताबाट सिटिजन्स बैंकमा शेष फैजल नाम गरेका व्यक्तिको नाममा रहेको अकाउन्टमा पैसा गएको देखियो।

पीडितले फैजलको नाम सुन्नेवित्तिकै ती व्यक्ति आफ्नै गाउँको भएको बताएका थिए। पीडित  युवकले आफ्नो ई-बैङ्किङका लागि फैजलले सहयोग गरेको बताएपछि प्रहरीले तिनै युवक संलग्न रहेको निष्कर्षमा पुगेको थियो।

‘ई-बैङ्किङ गर्दा खातामा आफ्नो समेत पहुँच हुने गरी फैजलले बनाएका रहेछन्’, अनुसन्धानमा खटिएका महाशाखाका एक अधिकारीले भने। प्रहरीले १९ वर्षीय फैजललाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार एनपीएसका लागि फैजलले हेटौँडाका एक व्यक्तिको नागरिकतासमेत प्रयोग गरेका छन्।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्