सुदूरपश्चिम प्रदेश कांग्रेस सभापतिमा बलायर र मिश्रबीच प्रतिस्पर्धा

धनगढी – नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन्।
संस्थापन समूहका नेताको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवार बन्ने भएका हुन्।

संस्थापन पक्षबाट महामन्त्रीमा नरनारायण शाह मनु, मेघराज खड्का, उपसभापतिमा जनक चौधरी, लोकराज अवस्थी, सहमहामन्त्रीमा अम्बिका चलाउने, गोपाल भट्ट छन्। सदस्यको भने टुंगो लगाउन बाँकी छ।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताबीच बिहीबारदेखि छलफल भइरहेको थियो। शुक्रबार दिउँसो दुईदेखि चार बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो।

धनगढीमा इतर संस्थापन (पौडेल) पक्षबाट प्रदेश सभापतिमा कैलालीका पूर्व जिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बनाएको छ।

यस्तै, उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको छ। निर्वाचन कार्यतालिकाअनुसार शनिबार मतदान हुनेछ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्