कांग्रेस अधिवेशनः प्रदेश १ मा ९ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी, निर्वाचन शनिबार हुने

मोरङ – कांग्रेस प्रदेश १ सभापतिका लागि संस्थापन इतर पक्षबाट गुरुराज घिमिरे र कृष्ण सिटौलापक्षबाट उद्धव थापाको मनोनयन दर्ता भएको छ।
शनिबार हुने निर्वाचनका क्रममा शुक्रबार गरिएको मनोनयन दर्तामा घिमिरे र थापाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार दु्ई जना निर्वाचित हुने उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। जसमा गोविन्द ढुंगाना, टंक राई र मोरङबाट रमेशजंग रायमाझी र विश्वनाथ रिजाल छन्। रिजाल महेश आचार्य र रायमाझी संस्थापन पक्ष नजिक छन्।

त्यसैगरी, २ जना महामन्त्रीका लागि ४ जनाको उम्मेदवारी परेको छ। संस्थापनइतर पक्षबाट संखुवासभाका दीपेन श्रेष्ठ र सुनसरीका उमेश थापा छन्। त्यसैगरी, संस्थापन पक्षबाट पद्मसुन्दर पालुङ्वा र भूपेन्द्र राई छन्।

त्यसैगरी, दुई महिला र दुई खुला गरी ४ जना सहमहामन्त्रीका लागि मोरङबाट प्रमिला गच्छदार, मानबहादुर लिम्बू, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो छन्। त्यसैगरी, झापाबाट रोहितकुमार साह, धनकुटाबाट इन्दिरा थापा र सुभाषचन्द्र राई, सीता कार्की, वीरकाजी राई रहेको समितिले जनाएको छ।

समितिका अनुसार निर्वाचनमा कुल १ हजार ७ सय ७० जनाले मतदाताले सहभागिता जनाउन पाउनेछन्। प्रदेशमा १ हजार १४ प्रदेश महाधिवेशन प्रतिनिधि तथा ७ सय ५६ केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदाता छन्। प्रथम प्रदेश १ अधिवेशनको निर्वाचन शनिबार बिहानबाट हुनेछ।

प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खस आर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला १ र खुला १, दलित महिला १ र खुला २, थारूतर्फ महिला १ र खुला १, मुस्लिममा खुला १, अल्पसंख्यक र अपांगमा १ सदस्य पदका लागि निर्वाचित हुनेछन्।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्