सर्वोच्चका न्यायाधीशहरु ४० दिनपछि आन्दोलन छाडेर काममा फर्किए

काठमाडौँ – सर्वोच्च अदालतमा ४० दिनपछि मुद्दाको नियमित सुनुवाइ भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिस्कार गरेको ४०औँ दिनमा उनीहरु नियमित काममा फर्किएका हुन्। बुधबारदेखि गोलाप्रथाबाट दैनिक पेशी तोकिए पनि न्यायाधीशहरुले बिहीबारसम्म इजलासमा फर्किएका थिएनन्।

शुक्रबार गोलाप्रथाबाट १० वटा इजलास तोकिएको थियो। सबै इजलासमा मुद्दा सुनुवाइ भएको सर्वोच्च प्रशासनले जनाएको छ।

राणाले प्रधान्यायाधीशको पदमा बसेर कार्यपालिकासँग भागबण्डा खोजेको, आर्थिक प्रभावमा परेर मुद्दाको फैसला गरेको, न्यायपालिकामा विकृति र विसंगति बढाउन भूमिका खेलेकाले उनको बहिर्गमन आवश्यक भएको भन्दै न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गरेर आन्दोलन सुरु गरेका थिए।

आन्दोलनको अवधिमा बन्दीप्रत्यक्षीकरणका निवेदन मात्रै सुनुवाइ भएको थियो।

न्यायाधीशहरुको आन्दोलनलाई नेपाल बारले कात्तिक १४ गतेदेखि साथ दिँदै सर्वोच्च परिसरमा धर्ना र नाराबाजी गर्दै आएको छ।

बारले न्यायाधीशहरुलाई तत्काल काममा नफर्किन दबाब दिए पनि गोलाप्रथा लागू भएको र बाहिर न्यायाधीशहरुमाथि प्रश्न उठ्दै गएपछि आन्दोलन छाडेर न्यायाधीशहरु काममा फर्किएका हुन्।

यद्यपि उनीहरुले विवादित प्रधानन्याधीश राणासँग बेञ्च सेयर नगर्ने तयारी गरेका छन्।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्