जनकपुरधाममा विवाहपञ्चमीको रौनक सुरु

जनकपुरधाम – मिथिलाञ्चल क्षेत्रमा शुक्रबारदेखि विधिवत् रूपमा सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमी महोत्सव सुरु भएको छ।

विवाहपञ्चमीको पहिलो दिन शुक्रबार जानकी मन्दिरको प्रांगणमा जनकपुर नगर दर्शन गरिएको हो। यस विधिका लागि मन्दिरको प्रांगण भरिभराउ भएको हो।

विवाहपञ्चमी महोत्सवका लागि नेपालको विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालु आउन थालेका छन्। र, आउने क्रम जारी छ।

मिथिला नरेश जनककी छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ। यसका लागि चहलपहल बढेको छ। कोरोना भाइरसका कारण प्रभावित हुँदै आएको विवाहपञ्चमी महोत्सवमा यस वर्ष १० लाखभन्दा बढी श्रद्धालु आउने अनुमान रहेको जानकी मन्दिरका महन्थ तपेश्वरदास वैष्णवले जानकारी दिए।

भगवान् राम र लक्ष्मण पहिलो पटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिन्छ।

नगर दर्शन विधिमा राम–लक्ष्मणको प्रतीकका रूपमा रहेको दुई बालकलाई नगर दर्शन गराइएको थियो। जनकपुर नगर दर्शनका लागि जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो। सो बजारमा मुरही, चिया, कचरी, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दूर, टिकलीलगायतका पसल कृत्रिम रुपमा निर्माण गरिएका थिए।

राम लक्ष्मणको प्रतीकका रूपमा रहेका दुई किशोरलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार घुमाइएको थियो। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार राम–लक्ष्मण स्वयं जनकपुरधामको नगर दर्शन गर्दा पूरै मिथिलाको वातावरण अद्भुत बनेको थियो।

सोही अवस्था पुनः दर्शाउन जानकी मन्दिर परिसरमै कृत्रिम बजार लगाएर नगर दर्शन विधि गरिएको दासले बताए।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्