प्रशिक्षक मेघराजले भनेका थिए- दुई खेलपछि प्रतिद्वन्द्वीले सातदोबाटो नयाँ क्लब हो भन्ने बिर्सनेछन्, भयो त्यस्तै

ह्याट्रिक पुरा गरेपछि अजाई।

काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिगको यो सिजन सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीले भनेका थिए- दुई खेलपछि हामी नयाँ टोली हौँ भन्ने कुरा प्रतिद्वन्द्वीले बिर्सने छन्।

ठिक त्यस्तै भएको छ। पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा उपाधि दावेदार थ्रीस्टारलाई १-० गोलले स्तब्ध बनाएको थियो। तेस्रो खेलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बल-एपीएफलाई ४-१ गोलले हरायो। यो जितपछि सातदोबाटो अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ। सातदोबाटो ए डिभिजनको नव प्रवेश टोली हो। उसले पहिलोपटक ए डिभिजन लिग खेलिरहेको छ।

सातदोबाटो युथ क्लबका मार्टिन अजाई ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। दशरथ रंगशालामा अजाईले शुक्रबार एपीएफविरुद्ध ह्याट्रिक गरेका हुन्। उनले ५८ औँ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए।।

तीन खेलपछि सातदोबाटोको ७ अंक छ। दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको ६ अंक छ। अन्य चार टोलीको दुई खेलबाट समान ४ अंक छ। एपीएफले लगातार तेस्रो हार ब्यहोरेको हो।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्