राजधानी कार्यान्वयन गर्दा ज्यान लिने धम्की, सुरक्षा माग गर्दै प्रशासनमा निवेदन

दाङ – लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजधानी कार्यान्वयन गर्दा आफूमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन्।

पछिल्लो समय लुम्बिनी प्रदेश सभाको भवन निर्माण कार्यले गति लिएपछि राजधानी कार्यान्वयनको आधार तयार भएको थियो। तर, राजधानी कार्यान्वयनको अभियानमा सक्रिय रहने व्यक्तिलाई सामाजिक सञ्जाल म्यासेन्जरबाट ज्यान मार्ने धम्की आएको भन्दै घिमिरेले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा निवेदन दिएका छन्।

सुबोध बेलवासे नाम गरेको फेसबुक म्यासेन्जर आईडीबाट घिमिरेलाई ज्यान मार्ने धम्की आएको हो। ‘राजधानी कार्यान्वयनको काम तुरुन्त रोक नत्र कि अख्तियार लगाएर सक्छौं कि खुकुरी, बुटवल आएपछि दाङ फर्कन पाउँदैनस् है’ लेखेर धम्की दिइएको छ।

घिमिरेले धम्की दिने व्यक्तिको म्यासेन्जरको स्क्रिन सटसहित जिल्ला प्रशासनमा निवेदन दिएका छन्। दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ज्यान मार्ने धम्कीबारे आएको निवेदनको विषयमा प्रहरी कार्यालयमा जानकारी गराएको र त्यहाँबाट अनुसन्धान हुने बताए।

धम्कीपूर्ण म्यासेज पठाउने व्यक्तिको खोजी गरी कानुनी कारबाही गर्दै आफ्नो जीवन रक्षा गर्न माग गरेका छन्। प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानीमा आयोजना गर्ने तयारीअन्तर्गत दिन–रात गरी दुई सिफ्टमा निर्माण भइरहेको छ।

यही महिनाभित्र काम सक्ने लक्ष्य लिइएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनसँग जोडिएका विषयमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले काम गर्दै आएको छ।

पर्यटन, ग्रामीण तथा पूर्वाधार विकास मन्त्रालय स्थापना भएको छ भने स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्थानान्तरणको तयारी गरिएको छ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्