उपचुनाव गर्ने कि नगर्ने अन्योलमा छौँ : माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनाव गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन अन्योलमा रहेको खुलासा गरेका छन्।

आउँदो माघमा हुने राष्ट्रियसभाको चुनावपछि रिक्त रहेका प्रतिनिधिसभाका चार र प्रदेशसभाका १८ स्थानमा उपचुनाव हुने बताइए पनि सत्ता गठबन्धनभित्रै उक्त चुनावबारे ठोस धारणा नरहेको सार्वजनिक गरेका हुन्।

शुक्रबार एकीकृत समाजवादी निकट ‘प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन’को पहिलो प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको चुनावमा पाँच दल मिलेर जाने बताए।

अध्यक्ष नेपालले भने, ‘उपचुनाव गर्ने कि नगर्ने भन्ने अन्योल छ। हामी निर्णयमा पुगिसकेका छैनौँ। जम्मा एक वर्षका लागि मात्रै हो। त्यति अवधिका लागि उम्मेदवार र सरकारको खर्च किन गर्ने भन्ने छ।’

निर्वाचन आयोगले पनि उपचुनावका लागि केही करोड खर्च लाग्ने बताएको छ।

सत्ता गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले सत्ता सञ्चालन समन्वय समिति बनाउँदै राष्ट्रियसभा र उपनिर्वाचनमा सहकार्य गर्ने घोषणा गरेका थिए।

उनले आफ्नो पार्टीको चाहना तीनै तहको चुनाव एकैपटक गर्ने रहेको उल्लेख गरे। ‘तीनै तहको चुनाव सँगसँगै गर्ने हाम्रो चाहना छ। त्यसका लागि छलफल चलाउँछौँ,’ अध्यक्ष नेपालले भने।

नेपालले माघ १२ गते हुने राष्ट्रियसभाको चुनावमा एमालेलाई पत्तासाफ गर्ने घोषणा गरे। एमालेबाट रिक्त हुने ८ पदमा कुनैमा पनि उसका उम्मेद्वारले जित्न नसक्ने उनको दाबी थियो।

चितवनको तमासाले विद्रोह ठीक ठहरियो

अध्यक्ष नेपालले चितवनमा एमालेको दशौँ महाधिवेशनमा देखिएको तमासाले विद्रोह ठीक भएको पुष्टि गरेको दाबी गरे। एमालेमा अब केपी ओलीलाई ‘बा’ भनेर वरिपरि घुम्नेको मात्रै भविष्य भएको टिप्पणी गरे।

‘चितवनको तमासाले विद्रोह ठीक छ भन्ने पुष्टि गर्‍यो। एमाले अब ‘बा’ पार्टी हो। ‘बा’ नभन्नेको त्यहाँ पत्तासाप हुन्छ,’ नेपालले अगाडि भने, ‘त्यहाँ बस्नु भनेको केपी ओलीको टाङ्मुनि छिर्नु हो। हामीले ठीक गर्‍यौँ।’

ओलीले सबैलाई हेप्ने, इज्जत प्रतिष्ठा कसैलाई नदिने संस्कार सिकाइरहेको नेपालको आरोप थियो।

दुई दिनसम्म चल्ने शिक्षकहरुको राष्ट्रिय सम्मेलन शनिबार सकिँदैछ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्