नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

महोत्तरी- नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन् ।

माओवादी केन्द्र महोत्तरीको बर्दिबासमा प्रथम नगरसम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागि केपी शर्मा ओलीले प्रतिगमन र विसर्जनवादलाई अँगालेको पनि आरोप लगाए ।

समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न  सकिने र यसको लागि कम्युनिस्टहरूले  सत्ताको नेतृत्व गर्नुपर्ने उनको जिकिर छ ।

क्रान्तिकारी पक्षधरहरूसँग नै कम्युनिस्टहरूले सहकार्य र कार्यगत एकता गर्नुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले वैचारिक, कार्यगत र रणनीतिसहितको मोर्चा बन्दी गर्दै पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।

माओवादी केन्द्र कहिल्यै पद र सत्ताको लोभ नगर्ने र जनमुखी कार्यहरूमा सहकार्य गर्दै आएको पनि उनको भनाइ छ ।

नेता श्रेष्ठले पद भन्दा पनि विचारमाथि हुनुपर्ने बताए । उनले भने, ‘केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नकै लागी एकता गरे अनि सहमतिलाई पनि तोडे ।’

समाजवादी क्रान्तिलाई स्थापित गराउन कम्युनिस्टहरूको लागी अपूर्व अवसर आएको र त्यसलाई वैचारिक कार्यदिशामा मतभेद र सत्तालुप्साकै कारण सुरक्षित गर्न नसकिएको पनि नेता श्रेष्ठले दाबी गरे ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्