विकासले निम्त्याएको विस्थापनको कथा –‘ठूलो माछा, सानो माछा’

सुकुमायाको आँगनमा हिजोआज पहिले जसरी चरा आउँदैनन्, घाँटी सुकुन्जेल चिच्चाएर उनी चरा बोलाउँछिन्, ‘काग काग।’

चराहरुमा उनको विशेष लगाव छ, चरालाई चारो नखुवाई, पानी नपिलाई उनको मनले शान्ति पाउँदैन। चराको गाँस र बाँसप्रति उनको चासो सन्तान सरह छ।

तर पहिला आँगनमा सुकाएका बिस्कुन छर्न आउने चरा हिजोआज बोलाएर खानेकुरा राखिदिँदा पनि आउँदैनन्, आएपनि राखेको खानेकुरा नखाई जान्छन्। उनले हेर्दा हेर्दै सयौँको बथानमा उड्ने काग आज पातलिँदै पातलिँदै एक्लो भएको छ।

हुन पनि चराका बास मासिए, चोकको ठूलो रुख बाटोको लागि काटियो अनि रुख ढल्दा धेरै चराका गुँड भत्के। कतिका त कोरल्न ठिक्क परेका अण्डा पनि झ्याम्म भएर फूटे। बाँस मासिएपछि चराहरु बिचल्लीमा परे। त्यसैले आक्कल झुक्कल सुकुमायाले बोलाएको समयमा मात्रै आउँछन् उनीहरु। बाँकी तर नातिनीले हेर्ने गरेको क्यालेन्डरमा तस्बिर बनेर बसिरहेका छन्।

उमेर डाँडा माथि पुगेकी उनलाई फेरिएको समयले बिथोलेको छ। आफू संसार छोडेर जाने बेलामा सन्ततिको भविष्यले पिरोलेको छ। जसरी उनले हेर्दा हेर्दै चराको बास उजाडियो त्यसरी नै उनका वंशको उठिबास लाग्ला भन्ने चिन्ताले सताएको छ, त्यसैले उनी खेत बेच्न लागेका छोरा कृष्णचालाई भन्छिन्, ‘नबेच पुर्खाको थलो, यहाँबाट उठिबास लागे कहाँ जान्छस् ?’

कृष्णचाका हुर्किएका छोरा र छोरी छन् जसको भविष्य बनाउने जिम्मा उसले पाएको छ। छोरा अमेरिका पढ्न जान चाहन्छ, छोरी नर्स बन्न। पुर्ख्यौली पेशा बाट आएको कमाईले छाक टार्न गाह्रो । खेतीको ल्याउनपर्ने मललाई महंगो भए पनि तीन महिना कुरेर ल्याउनुपर्छ।

६ महिनाको मेहनत पछि धोक्रोमा भरिएको धानको मूल्य ‘साग’ बराबर आउँछ। छोरा र छोरीको पढाइको लागि खर्च नपुगेर धौधौ भएका कृष्णचा र उनकी श्रीमति टाउँकोमा हात लगाएर बस्छन्।

पृष्ठभूमिमा गीत बज्छ,

‘मल महंगो छ, बिउ बिजन महंगो छ
किसानको पसिनाको मोल कहाँ छ ?’

पाटन दरबार क्षेत्रको डलबलीमा खप्परमा हात राखेर बसेका कृष्णचाका दम्पति नाटक ‘ठूला माछा, साना माछा’ का पात्र हुन्। काठमाडौँमा विकासका नाममा भईरहेको मानव विस्थापनको जोखिममा रहेका समुदायको प्रतिनिधि पात्र।

शिल्पी थिएटर, बत्तिसपुतलीको प्रस्तुतिमा यो नाटक हाल काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। थिएटरले यो भन्दा अगाडि पूर्वि नेपालको विभिन्न ठाउँमा यो नाटक मञ्चन भइसकेको छ।

काठमाडौँमा भने मङ्सिर १३ सोमबार बसन्तपुर, १५ गते बुधबार पाटन दरबार क्षेत्रको डबलीमा यो नाटक प्रदर्शन भयो । यो घुमन्ते नाटकको समापन भने बालाजूको नेवार बस्ती जहाँ सडक विस्तारको लागि बस्ती भत्काएको छ, त्यहाँ गरिएको नाटकका निर्देशक घिमिरे युवराजले जनाएका छन्।

शिल्पीको यो टोलीले ठाउँ अनुसारको बोली र समस्यालाई उजागर गर्दै सकेसम्म त्यही बस्तीका भाषामा नाटक मञ्चन गरेको थियो। काठमाडौँमा भने नाटकका पात्रमा नेवारी नाम र त्यही समुदायका कलाकालाई लिएर नाटक मञ्चन गरिएको छ। अझ विकासको नाममा नेपालका भाषा, सम्पदा, सँस्कृति र पर्यावरणमाथि भईरहेको अतिक्रमणलाई यो नाटकले उठाएको छ।

नाटकमा पछिल्लो समय ज्यादै विवादमा आएको खोकनाको फास्ट ट्रयाक बाटो, सुक्दै गएका पोखरी अनि पानी नआउने ढुंगेधाराका मुद्दा उठाइएको छ। नाटकका पात्र कृष्णचा र तुयु मैचालाई सरकारले सडक विस्तारको लागि पुर्खाको खेतको मुआब्जा लिने कि नलिने दुविधा छ। किनकी उनलाई सन्तानको पढाउने खर्च जुटाउन हम्मे हम्मे परेको छ।

उनको दुविधा बढाउन थरी थरीका मानिस आइपुग्छन्, कोही करोडौँको जग्गालाई कौडिको मोलमा दिन आउँछन्, कोही तिम्रो जंग्गामा यो त्यो संभावना छ भनि लालच दिन्छन्, कोही भने पुर्खाको छाला बेच्न हुन्न भनि सम्झाउन पनि आइपुग्छन्।

तर नागरिकको छाति छिया छिया पार्ने योजना ल्याउने राजनीतिज्ञ नागरिकको समस्यालाई सुल्झाउन भन्दा पनि उल्झाउन लागि परेका छन्। नागरिककै समर्थनमा पदमा पुगेका नेताहरु जनताको उठिबास लगाउन लागि परेका छन्।

नाटकको शुरु, मध्यान्तरमा गीत बज्छ,

हामीलाई चाहिन्छ विधिको शासन,
तिमी साँच्चिकै सुध्रिनै पर्छ।

करोडौँ मानिसको रगत पसिनामा
तिम्रो सत्ताको जग बसेको छ

यो सडकको आवाज सुन, यो सडकको आवाज सुन !

गणतन्त्र र संघियता लागू भएपछि नेपालको संरचनागत व्यवस्थामा देखा परेका विकृतिलाई नाटकले प्रस्तुत गरेको छ। स्थानीय तहको मनलागी विकास, महिला पदाधिकारीको निर्णयलाई बेवास्ता गरिनु, नेपालमा सडक विस्तारको नाममा कहाली लाग्दो डोजर आतंक, शहर विस्तारको नाममा पुराना बस्ती अनि सम्पदालाई वेवास्ता गरिनु, राष्ट्रिय गौरवको आयोजना भन्दै खेतमा सडक विस्तार गर्ने र विशेषगरी जंग्गालाई चलखेल गर्ने दलालको क्रियाकलापलाई नाटकले सहज ढंगमा प्रस्तुत गरेको छ।

हिजोआज मौलाएको ‘दलाल’ प्रवृत्ति र सोझासाझा जनतालाई परेको मार नाटकमा स्पष्टसँग प्रस्तुत गरिएको छ। कृष्णचालाई जग्गा बेच्न उक्साउने दलाल, लुमन्तीको नागरिकताको नाम सच्चाउन आइपरेको झंझट आम नेपालीका दैनिक दुख हुन्।

किनकी सरकारी कार्यलयमा भईरहेको भष्ट्राचार जहाँ खल्ती नभरुन्जेल ‘काम उता कोठामा जानुस्’ भन्ने प्रवृति आम नेपालीको दैनिकी हो। यो दृश्यको घत परेरै होला दर्शक यति बेला परर तालि बजाउछन्।

नाटक मञ्चनको अभ्यासका क्रममा निर्देशक घिमिरेले यो नाटकलाई बेथिती विरुद्धको अभियान भनेका थिए। नेपालको पूर्वी क्षेत्रमा मञ्चन सक्काएर आएको यो टोलीले मंसिर २० गते बांगेमुढामा अन्तिम प्रस्तुती दिएपछि समापन गर्नेछ।

२५ हजार पुरस्कार

थिएटरले नाटकले उठाएको विषयमा कविता लेख्नेलाई २५ हजार रुपैयाँले पुरस्कृत गर्ने जनाएका छन्। कवि शकुन्तला जोशीले आएका कवितामध्ये ४ उत्कृष्ट कविता छान्नेछिन् र छानिएका हरेकलाई २५ हजार रुपैयाँले पुरस्किृत गरिने थिएटरले जनाएको छ।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्