सुदूर पश्चिम, कर्णाली र लुम्बिनीमा हल्का वर्षा सम्भावना, अन्य प्रदेशमा कस्तो रहनेछ मौसम?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा सम्भावना रहेको जनाएको छ।

साथै सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं १ र २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार राती प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १ को पहाडी भूभागको एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशभर चिसो बढ्ने क्रम रहेकोले पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ।

उसले आइतबार दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको साथै सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्