नेपाली कांग्रेस १४औँ महाधिवेशन

कर्णालीमा ५१ पदका लागि १२४ जनाको उम्मेदवारी दर्ता

सिमकोट – नेपाली कांग्रेसको पहिलो कर्णाली प्रदेश अधिवेशनमा ५१ पदका लागि १२४ जनाले उम्मेदवारी दिएका छन्। जसले गर्दा सबै पदका लागि मतदान गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ,

प्रदेश पदाधिकारीमध्ये सबैभन्दा बढी महामन्त्री पदका लागि पाँच जना र कम सहमहामन्त्री महिला पदका लागि दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए।

उनका अनुसार कांग्रेस प्रदेश कार्य समिति ५१ सदस्यीय हुनेछ। प्रदेश सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा संस्थापन पक्ष, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाको उम्मेदवारी परेको हो। सभापतिका लागि मोतीराज बम, ललितजंग शाही र भुपेन्द्रजंग शाहीको उम्मेदवारी दर्ता भएको छ। मोतीराम निधि, ललितजंग संस्थापन र भुपेन्द्रजंग पौडेल पक्षका हुन्।

दुई उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ। कालीबहादुर सहकारी, सनतकुमार कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उपसभापतिमा उम्मेदवारी दिएका छन्। महामन्त्री दुई पदमा वागीसहित पाँच जनाको उम्मेदवारी परेको छ। निरञ्जन केसी, कृष्णबहादुर विसी, कृष्णकुमार रोकाय, खगेन्द्रबहादुर मल्ल र गोविन्द कोइरालाले उम्मेदवारी दर्ता गरेका छन्। गोविन्द संस्थापन पक्षका हुन्।

सहमहामन्त्री पुरुषतर्फ दुई पदमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल र जयनन्द उपाध्याय (जयस) को उम्मेदवारी परेको छ। सहमहामन्त्री महिला पदमा रामछायाकुमारी शाही र देविकाकुमारी सिंहले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको छ। आज दिउँसो १२ बजेदेखि मतदान हुने समितिले जनाएको छ।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्