३८ वर्षपछि ‘घर भित्रिए’ लक्ष्मीनारायण

ललितपुर पाटनको पट्को टोलस्थित नारायण मन्दिरमा पुनर्स्थापित भएपछि लक्ष्मी–नारायण ।

काठमाडौँ – चोरी भएको ३८ वर्षपछि देवता लक्ष्मीनारायणको मूर्ति उनकै पुरानो मन्दिरमा पुनर्स्थापित भएको छ ।

सन् १९८४ को मध्यतिर पाटनको पट्को टोलस्थित मन्दिरबाट चोरी भएको लक्ष्मीनारायणको मूर्ति शनिबार विशेष पूजाआजासहित सोही मन्दिरमा पुनर्स्थापित गरिएको हो।

नर र नारीको संयुक्त स्वरुपमा रहेकाे लक्ष्मीनारायणको सो मूर्ति १२–१५ औँ शताब्दीको हो। मूर्तिको दायाँतर्फ नारायण तथा बायाँतर्फ लक्ष्मीको प्रतिनिधित्व रहेको छ।

नेपालबाट चोरी–हराएको सो मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको थियो। त्यसपछि प्रक्रिया पूरा गरी वासुदेव–कमलाजाका रुपमा पनि चिनिने सो मूर्ति गएको वैशाखमा नेपाल ल्याइएको थियो।

नेपाल ल्याएपछि पाटन दरबार संग्रहालयमा राखिँदै आएको मूर्ति शनिबार विशेष पूजाआजासहित पट्को टोलमा रहेको नारायण मन्दिरमा पुनर्स्थापित गरिएको हो।

शनिबार बिहान बाजागाजा र झाँकीसहितको टोलीले पाटन दरबार संग्रहालयबाट लक्ष्मीनारायणको मूर्ति रथमा ल्याई नारायण मन्दिरमा पुनर्स्थापित गरिएको हो।

मूर्ति फिर्ता ल्याउने प्रक्रियामा सक्रिय सहयोग गरेका नेपालका लागि अमेरिकी राजदूत  र्‍याण्डी डब्लु बेरी, पत्रकार कनकमणि दीक्षित, सम्पदा अभियन्ता रोशन मिश्र तथा रवीन्द्र पुरीसहितको सहभागितामा मूर्ति पुनर्स्थापित गरिएको हो।

लक्ष्मीनारायणको मूर्ति पहिचान तथा नेपाल फिर्ता ल्याउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी अमेरिकाको न्यूयोर्कस्थित जोन–जे कलेजमा आर्ट–क्राइम विषयमा प्राध्यापन गर्दै आएकी एरिन एल थोम्सन तथा नेपालबाट चोरी भएका सांस्कृतिक सम्पदाहरुको अध्ययन गर्दै आएकी स्वीडेनकी जोय लिन डेभिस र स्कट्ल्याण्डको ग्लास्गो विश्वविद्यालयलमा क्रिमिनोलाजी अध्यापन गर्दै आएकी एमलिन स्मीथ पनि मूर्ति पुनर्स्थापनाका लागि भएको विशेष कार्यक्रममा सहभागी थिए।

नेपालका लागि अमेरिकी राजदूत बेरीले लक्ष्मीनारायणको मूर्ति वास्तविक मन्दिरमा पुनर्स्थापित हुनु खुसी र आफूहरुका लागि पनि गर्वको कुरा रहेको बताए।

‘लामो प्रयासपछिको सफलता हो यो। नेपालबाट चोरी भएका वा हराएका सम्पदाहरुको पहिचान तथा फिर्ता ल्याउने प्रयास बल्ल सुरु भएको छ’, राजदूत बेरीले भने, ‘सचेतना बढ्दै गएको छ। आउँदा दिनमा अमेरिका, बेलायत, युरोप वा विश्वका अरु देशमा पुगेका सम्पदा पनि पहिचान होलान्, फिर्ता होलान्। यसले आश जगाएको छ।’

राजदूत बेरीले हराएका वा चोरी भएका सम्पदा फिर्ता गर्दा कूटनीतिक सम्बन्धमा असर पर्ने नभई थप बलियो हुने र विश्वासको वातावरण बन्ने पनि बताए।

यस्तै पट्को टोल सुधार समितिका अध्यक्ष वदन शर्मा राजोपाध्यायले आफ्नो टोलको मन्दिरबाट चोरी भएको मूर्ति झण्डै चार दशकपछि सोही स्थानमा राख्न पाउँदा निकै उत्साहित भएको बताएका छन्। ‘यो मूर्ति हामीले यहाँ पुनः राख्न सक्नु टोलका लागि गर्वको कुरा हो। अब यसको सुरक्षाका लागि हामीले राम्रो व्यवस्था गर्ने छौँ’, उनले भने।

कसरी पहिचान भएको थियो लक्ष्मीनारायणको मूर्ति?

पट्को टोलमा रहेको नारायणको मन्दिरबाट नर–नारीको स्वरुपमा रहेकाे लक्ष्मीनारायणको मूर्ति सन् १९८४ को मध्य (जुन–जुलाई) तिर चोरी भएको हो।

सो मूर्तिका बारेमा सम्पदा अध्येता लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’ मा विस्तृत रुपमा उल्लेख गरिएको थियो।

तर चोरी भएको मूर्ति कहाँ छ भन्ने थाहा थिएन। सो मूर्ति सन् १९९० मा अमेरिकाको न्यूयोर्कमा सदबिज नामक कम्पनीले लिलामीमा राखेको जानकारी आएको थियो। त्यसपछिका धेरै वर्ष फेरि लक्ष्मीनारायणको मूर्तिबारे जानकारी भएन।

एक योजनाका लागि सन् २०१३ मा जोय लिन डेभिस नेपाल आएकी थिइन्। वाङ्देलको पुस्तकमा रहेका मूर्तिको विवरणका आधारमा पट्को टोलको नारायण मन्दिरबाट चाेरी भएको लक्ष्मीनारायणको मूर्तिको चित्र (पेन्टिङ्ग) बनाएको कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराईसँगको कुराकानीमा डेभिसले बताएकी छन्।

जोयले सन् २०१५ मा गुगलमा खोजी गर्ने क्रममा आफ्नो पेन्टिङ जस्तै मूर्ति अमेरिकाको टेक्सासस्थित डल्लास म्युजियममा रहेको थाहा पाइन्।

पट्को टोलस्थित नारायण मन्दिरमा लक्ष्मीनारायण ।

सन् २०१७ मा जोय र एरिन एल थोम्सनबीच अमेरिकाको भर्जिनियामा भेट भयो। त्यसपछि एरिनले लक्ष्मीनारायण घर फर्काउने अभियान थालिन्। अन्ततः सबै प्रक्रिया पूरा भएपछि गएको वर्षको फागुनमा अमेरिकाको संघीय अनुसन्धान ब्यूरोका अधिकारीले अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत डा. युवराज खतिवडालाई वासिङ्टनमा सो मूर्ति हस्तान्तरण गरे।

त्यसपछि गत वैशाखमा लक्ष्मीनारायणको मूर्ति नेपाल आइपुगेको हो। नेपाल आएपछि अमेरिकी दूतावासले ललितपुर महानरका प्रमुख चिरिबाबु महर्जनलाई हस्तान्तरण गरेको थियो।

वैशाखयता पाटन दरबार संग्रहालयमा रहँदै आएको मूर्ति अन्ततः पुरानै मन्दिरमा स्थापित गर्न पाउनु नेपाली सम्पदा फिर्ती अभियान र नेपाली पुरातत्वको खोजी अभियानका लागि निकै खुसीको कुरा रहेको अभियन्ता रोशन मिश्रले बताएका छन्।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्