अपाङ्गता भएका व्यक्तिको पीडाः न गाडीभाडा छुट, न निःशुल्क उपचार

विश्व अपांगता दिवसको अवसरमा शुक्रबार लमही नगरपालिकामा आयोजित कार्यक्रममा सहभागीहरु। उक्त कार्यक्रममा आपाङ्ता भएका व्यक्तिहरुले आफ्नो समस्या सुनाएका थिए। तस्बिरः दशरथ घिमिरे/देश सञ्चार।

दाङ– लमही नगरपालिका वडा नम्बर ८ कप्तानगञ्ज निवासी मंगल चौधरीका छोरा जीतमान जन्मजात अपांग छन्। उनका हातखुट्टा केही चल्दैन। महिनामा मुस्किलले एक पटक उपचारको लागि लमही आउनुपर्छ। तर, सार्वजनिक सवारीसाधनमा भाडा छुट पाइँदैन। न त अस्पतालमा निःशुल्क उपचार नै पाइन्छ।

अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारीसाधनमा गाडीभाडामा आधा छुट दिने व्यवस्था छ। तर, गाडी सञ्चालकले भाडामा छुट दिदैनन्। भाडा छुट पाउन निकै संघर्ष गर्नुपर्छ। गाडीका चालक र सह–चालकले अपांगता भएका व्यक्तिलाई बेवास्ता गर्छन्।

जीतमान चौधरीलाई विश्व अपाङ्गता दिवसको अवसरमा शुक्रबार लमही नगरपालिकामा आयोजित कार्यक्रममा लगिँदै।

‘गाडी भाडामा छुट पाइँदैन। अपांग परिचयपत्र देखाउँदा पनि छुट पाइँदैन,’ उनले भने,‘घरमा पनि उस्तै छ। समाजले पनि हेला गर्छ। सरकारले हाम्रो समस्या बुझ्दैन।’

मदनकुमार मजगैयाँ सरकारले अपाङ्गता भएका व्यक्तिलाई उपचारमा समेत विभेद गरेको बताउँछन्। ‘बिरामी भएपछि सरकारी अस्पताल पुग्यो, औषधी सबै किन्नुपर्छ। निःशुल्क उपचार कता गयो,’ उनले भने, ‘हाम्रो समस्या अपांग दिवसमा मात्रै होइन, अरु बेला पनि सुनिदिनुपर्‍यो।’

जेनतेन सीप सिकेका अपाङ्गता भएकाहरुको अवस्था पनि दयनीय छ। सीलाई कटाइको सीप सिकेकी गायत्री चौधरीले आफ्नो सीपको उपयोग गर्न पाएकी छैनन्। ‘कपडा सिलाउन जानेको छु। तर, मैले काम पाइनँ,’ उनले भनिन्–‘मजस्ता धेरैको हालत यस्तै छ।’

अपाङ्गता भएका व्यक्तिले घर परिवारभित्र मात्रै नभइ समाज र सरकारसँग आफ्नो अधिकारको लागि अझै संघर्ष गर्नुपरेको छ। आधारभूत आवश्यकता उपभोग गर्न समेत अपाङ्गता भएका व्यक्ति पछिपरेको अवस्था छ।

फरक क्षमता भएका व्यक्तिलाई सरकारले चार तहमा वर्गीकरण गरेर परिचयपत्र वितरण गरेको छ। जसमध्ये ‘क’ र ‘ख’ वर्गकाले मात्रै सरकारले दिने सामाजिक सुरक्षा कार्यक्रमबापत भत्ता पाउने गरेका छन्। सरकारले दिने भत्ताबाहेक अन्य सुविधा प्राप्तिको लागि अझै आवाज उठाउनुपर्ने अवस्था रहेको अपांग सञ्जाल लमहीका अध्यक्ष वेदनिधि धितालले बताए।

‘अपाङ्गता भएका व्यक्तिले थुप्रै समस्या भोग्नु परेको छ। अपाङ्गता भएकाहरुको पक्षमा वकालत गर्न स्थानीय तहमा वडा सदस्यमा अपांगता भएका व्यक्तिको अनिवार्य प्रतिनिधित्व गरिनुपर्छ,’ उनले भने, ‘राज्यले अपांगता भएका व्यक्ति भनेर पहिचान त दियो तर, समस्या बुझेन।’

लमही नगरपालिकाभित्र ३८८ अपाङ्गता भएका व्यक्ति छन्। अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाउने र सहयोग सामाग्री हस्तान्तरण गर्ने गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख हस्तकुमारी विश्वकर्माले जानकारी दिइन्।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्