नेपाली कांग्रेस १४औँ महाधिवेशन

अझै सुरु भएन कर्णालीमा मतदान

वीरेन्द्रनगर – मतपत्र छपाइमा ढिलाइ हुँदा नेपाली कांग्रेस कर्णाली प्रदेश अधिवेशनअन्तर्गतको मतदान कार्य अझै हुन सकेको छैन। दिउँसो १२ बजेलाई तय गरिएको मतदान कार्य अहिलेसम्म सुरु हुन नसकेको हो।

सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाकक्षलाई अधिवेशनको मतदानस्थल निर्धारण गरिएको छ, जहाँ कांग्रेसका नेता तथा कार्यकर्ताहरु मतदानको प्रतिक्षामा रहेका छन्।

निर्वाचन अधिकृत अरुण पौडेलले मतपत्र छपाइमा ढिलाइ हुँदा मतदान कार्य पछि सरेको जानकारी दिए। उनले मतपत्र छापेर आउनेबित्तिकै मतदान अघि बढाइने बताए।

नेपाली कांग्रेसको पहिलो कर्णाली प्रदेश अधिवेशनमा ५१ पदका लागि १२४ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचनअन्तर्गत शनिबार बिहान ८ बजेसम्म उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ताको समय दिइएको थियो। उक्त प्रक्रियाले गर्दा मतपत्र छपाइमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ।

कर्णालीमा ७५३ जना प्रतिनिधिहरुले मतदान गर्नेछन्।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्