सीता राना मगरले हङकङमा क्रिकेट खेल्ने

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल–२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन्।

क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सीताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो।

‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सीता राना मगर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्नका लागि छनोट हुनुभएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ।

योसँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेटरसमेत बनेकी छिन्। फेयर ब्रेक इन्भीटेसनल–२०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो। प्रतियोगिता आगामी १ देखि १५ मेसम्म आयोजना हुनेछ।

६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिरजस्ता विश्वका चर्चित खेलाडीको सहभागिता रहने छ। क्रिकेटको माध्यमबाट लैङ्ङ्गिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ। प्रतियोगितामा सीता राना मगर कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय भने आयोजकले गर्नेछ। –न्युज कारखाना

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्