कांग्रेस अधिवेशनः महोत्तरी ३ का मतदान अधिकृतद्वारा राजीनामा

धिरेन्द्र मण्डल।

जनकपुरधाम– नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का मतदान अधिकृतले राजीनामा दिएका छन्। मतदान अधिकृत धिरेन्द्र मण्डलले आफूलाई अपहरण गरेर अवैधानिक तरिकाले प्रमाणपत्र लिएको भन्दै राजीनामा दिएका हुन्।

गत मंसिर १५ गते सहमतिमा क्षेत्रीय अधिवेशन गर्ने समझदारी भए पनि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनअन्तर्गत बन्दसत्र स्थगित गरिएको थियो। बन्दसत्रको क्रममा होहल्ला भएपछि स्थगित गर्नु परेको मतदान अधिकृत मण्डलले जनाएका छन्।

मण्डलले विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ एक समूहले जनकपुरधाम वडा नम्बर ८ स्थित घरबाट आफूलाई अपहरण गरेर आफूखुशी अवैधानिक तरिकाले प्रमाणपत्र लिएको भन्दै सो प्रमाणपत्र रद्द गर्नुपर्ने माग गरेका छन्।

त्यहाँ आफूले क्षेत्रीय अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएको मण्डलले जनाएका छन्।

महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ। क्षेत्र नम्बर १ मा महेश झा, क्षेत्र नम्बर २ मा राजकरण साह र क्षेत्र नम्बर ४ मा उत्तिम यादव सर्वसम्मत नेतृत्वमा चयन भइसकेका छन्।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को अधिवेशनको क्रममा गत बुधबार झडपसमेत भएको थियो। कांग्रेसका उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको थियो।

महोत्तरी क्षेत्र नम्बर ३ बाट मनोज झा, राघवेन्द्र झा र रामु यादव सभापतिका आकांक्षी छन्। मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट मानिन्छन् भने राघवेन्द्र रामचन्द्र पौडेल निकट हुन्।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्