पद र पैसाको प्रभावले पार्टीको सांगठनिक संरचना जोखिममा छः महेश आचार्य

कांग्रेस नेता महेश आचार्य।

मोरङ – शनिबार बिहानै पत्रकार मित्र कुमार लुईंटेलको सन्देश आयो। विराटनगरमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यसँग अनलाइनमा कार्यरत पत्रकारको अन्तरक्रियाबारे। हुन त, महेश आचार्यलाई धेरैले गम्भीर, कम बोल्ने, घमण्डीको पगरी दिने गरेका छन्।

बौद्धिकता र क्षमता भएर पनि उनी पार्टीको अग्रभागमा कमै देखिने गर्छन्। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासमेतले उनलाई जिम्मेवारयोग्य देख्ने गरेका छन्।

अर्थ क्षेत्रसँग धेरै जानकार व्यक्तिका रूपमा चिनिँदै आएका आचार्य पछिल्लो समय जलवायु परिवर्तनदेखि पार्टीको महाधिवेशनलाई समेत नजिकबाट नियाल्दै आएका छन्।

उनीसँग संवादका लागि पत्रकारको टोली पुग्दा दुईजना कार्यकर्तासँग आँगनमा उनी भलाकुसारी गरिरहेका थिए। यसबीच, उनले पत्रकारको टोलीसँग करिब ५५ मिनेट ध्यान केन्द्रित गरे।

पत्रकारसँगको कुराका क्रममा राजनीतिक अन्योलता र दिशाहीनतालाई चिर्दै निकास दिन कांग्रेसको जारी महाधिवेशन महत्वपूर्ण रहेको उनले बताएका थिए।

विराटनगर तीनपैनीस्थित आचार्य निवासमा कुराकानीका क्रममा नेता आचार्यले पार्टीभित्रका समस्याले पुर्‍याएको क्षति, जनाधार विस्तार हुनमा पुगिरहेको बाधालाई समाप्त गर्न विचार र संकल्पसहित महाधिवेशनले उपलब्धि हासिल गर्नुपर्ने उनको भनाइ थियो।

उनी भन्छन्, ‘महाधिवेशन निर्धारित समय र मितिका लागि मात्र हुनुहुँदैन। महाधिवेशनले समग्रमा उचित नीति र कार्यक्रम प्रस्तावित गर्दै मुलुकको राजनीतिक अन्योल चिर्दै पार्टी र देशलाई सही दिशा दिनुपर्छ। तर, यसपटक नीति र विचारमा आधारित रहेर नेतृत्व चयन गर्ने मौका हामीले गुमाएका छौँ।’

१४ औं महाधिवेशनमा उपसभापतिका लागि प्रतिस्पर्धा गरिरहेको बताउँदै आचार्यले भने, ‘मेरो उम्मेदवारी र हारजितको परिणामबाट चिन्तित छैन। पार्टीभित्र वैचारिक शून्यता, पारदर्शी स्वस्थ्य बहसको अवस्था कम हुँदै गएको छ। यसबाट जन्मिने विकृति र संकटलाई निरुपण गर्न सके मेरो उम्मेदवारीको औचित्य पूरा हुनेछ। यसैका लागि साथीहरूको विवेकमा निर्णय छाडेको छु। गुटबन्दीका लागि साथीभाइ मिलाउनतर्फ म लागेको छैन।’

‘मेरो निम्ति पद कहिल्यै महत्वमा रहेन। मेरो निम्ति लाइन कहिल्यै प्राथमिकतामा परेन’, उनले भने, ‘म कुनै गुटको बन्दी होइन। गुटबन्दीमा फसेपछि स्वतन्त्र चिन्तन आत्माको कुरा भन्न सकिन्न र गुटको भाषा बोल्नुपर्छ। मलाई त्यो दासता स्वीकार्य छैन।’

पछिल्लो समय पार्टी संगठनमा चुनौती देखिँदै आएको बताएका उनले भने, ‘पार्टीको विधानले एक व्यक्तिलाई दुई कार्यकालसम्म बस्ने सुविधा दिएको छ। तर दोहोर्‍याएर पदमा जाने सुविधाको प्रयोगले पदको दुरुपयोग हुने गरेको देखिएको छ। बढ्दो गुटबन्दीसँगै आफ्नो सुविधामा क्रियाशील सदस्यता वितरण गर्ने प्रवृत्तिले पार्टीलाई थप क्षयीकरण गुटबन्दीतर्फ कठोर बनाउँदै लगेको छ।’

पार्टीभित्र सहभागितामूलक छलफलको अभ्यास हुन छाडेकामा चिन्ता व्यक्त गर्दै आचार्यले पार्टीमा वैधानिक अधिकार प्राप्त निकायको छलफलभन्दा सीमित व्यक्तिवादी छलफलबाट निर्णय गरिने प्रवृत्ति मौलाएको बताए। उनले भने, ‘वैधानिक भन्दा पनि सीमित पदाधिकारीको छलफलपछि केन्द्रीय समिति बैठक राखेर निर्णय गर्ने प्रवृत्तिले आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउनेछ।’

पार्टीमा नयाँ पुस्ताको बढ्दो आकर्षणसँगै पद र पैसाको प्रभावले पार्टीको सांगठनिक संरचना पनि जोखिमपूर्ण भएको उनले बताए। पार्टीमा धनवाद र डनवाद मौलाउँदै गएको स्विकार्दै उनले यस्ता प्रवृत्ति चिन्ताजनक रहेको र यस्तो प्रणालीलाई परिवर्तन गर्नतर्फ सोच्नुपर्ने उल्लेख गरे।

संवादका क्रममा उनले विश्व जलवायु परिवर्तनको कुरालाई सरकारले बहसमा ल्याउन आवश्यक भइसकेको बताएका थिए। बढ्दो वायु प्रदूषण, कार्वन उत्सर्जनदेखि हिमशृंखला पग्लनेसम्मको विषयलाई प्राथमिकतासाथ सरकारले लिन सक्नुपर्नेमा जोड दिएका उनले भने, ‘जलवायु परिवर्तनका कारण नेपाल १५ वर्षमा जलवायु परिवर्तनको संकटमा पर्नेछ। हिमताल विस्फोट हुने, पग्लिने अवस्थामा पुगेका छन्। यसले क्षति पुर्‍याउनेछ। यस विषयमा पार्टीभन्दा माथि उठेर छलफल चलाउन आवश्यक छ।’

सरकारले कोरोनाले प्रभावित अर्थ क्षेत्रलाई बलियो बनाउनका लागि ध्यान दिन आवश्यक रहेको उनले प्रस्ट्याएका छन्। कोरोना संक्रमणबाट रोजगारीविहीन अवस्था, श्रमको संकुचित बजार, शिक्षा क्षेत्रमा पुगेको क्षति, ब्यापारघाटालगायत विषयलाई महत्वसाथ पार्टीले उठान गर्नुपर्नेमा उनले जोड दिए।

संवाद जारी रहँदै गर्दा उनलाई भेट्न विभिन्न स्थानबाट केही संख्यामा कार्यकर्ता आइपुगेका थिए। काठमाडौँ फर्कनका लागि उडानबारे समेत समय–समयमा उनले आफ्नो मातहतमा सोधिरहेका थिए। उनलाई कार्यकर्तासँगको भेटका लागि पत्रकार समूहले पनि आफ्नो समय पुगेको संकेत गर्दै टोली एक स्न्याप फोटो खिचेर बाहिरिएको थियो।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्