कमल थापा भयंकर ठूलो नेता भन्ने लाग्थ्यो, तर म गलत रहेछुः रेखा थापा

रेखा थापा/तस्बिरः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ– अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)की नेता रेखा थापाले कमल थापाका कारण पार्टी कोल्याप्स भएको बताएकी छन्।

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी थापाले शनिबार भृकुटीमण्डपमा सञ्चारकर्मीसँग बोल्दै कमल थापाको प्रवृतिकै कारण पार्टी प्रतिनिधिसभाको चुनावबाट एक सिटमा खुम्चिएको बताइन्।

उनले भनिन्, ‘कमल थापा कतिसम्म कन्जर्भेटिभ हो भन्ने कुरा उहाँको आफै खाउँ, आफै लाउँ भन्ने र शासकीय प्रवृतिबाट अगाडि बढ्नु भएको नेता भन्ने कुराबाट बुझियो। किन आज पार्टी कोल्याप्स भयो? आज पार्टी किन जिर्ण अवस्थामा छ? पार्टी एक सिटमा किन झर्‍यो? उहाँकै कारणले हो।’

अगाडि बढ्छु भन्दा आशिर्वाद दिनुपर्नेमा कमल थापाले  आफूहरुमाथि सिन्डिकेट लगाएको उनको आरोप छ। उनले भनिन्, ‘कमल थापाको नेता र कार्यकर्ता त म पनि हो नि। उहाँले हामीलाई सिन्डिकेट लगाउने? उहाँले त अगाडि बढ्छु भन्दा आशिर्वाद दिनुपर्ने हो।’

आफू कमल थापाजस्तो  दोहोरो चरित्रको नभएको उनको भनाइ छ।

‘राष्ट्रवादी को हो? रेखा थापा हो। उहाँजस्तो दोहोरो चरित्रको होइन म। उहाँजस्तो पद र प्रतिष्ठा पाउनलाई हाम फालेर गइहाल्ने व्यक्ति पनि होइन म। उहाँको राजनीतिक अवस्था त मलाई गरेको कटाक्षबाट थाहा हुन्छ कि उहाँ कुन लेबल र कुन मनस्थितिमा हुनुहुँदो रहेको भन्ने।  हिजोसम्म त मलाई भयंकर ठूलो नेता लाग्थ्यो। दूरदर्शी नेता लाग्थ्यो तर म गलत रहेछु।’

अहिले पार्टी बाँच्ने कि मर्ने भन्ने दोसाँधमा रहेको भन्दै पार्टी बचाउन नयाँ नेतृत्व चाहिने उनले बताइन्। आफू पार्टीभित्रको टिके प्रवृतिविरुद्ध उभिएको उनको भनाइ छ।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्