फिल्म खेलेर देखाउन कुन्ती शाहीलाई रेखा थापाको चुनौती

रेखा थापा। तस्बिरः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ– अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेता रेखा थापाले चलचित्र खेलेर देखाउन कुन्ती शाहीलाई चुनौती दिएकी छन्।

केही दिनअघि राप्रपा नेत्री शाहीले रेखा थापालाई लक्षित गर्दै राजनीति गर्न फिल्म खेलेजस्तो सजिलो नभएको बताएकी थिइन्। त्यसैको जवाफमा थापाले शाहीलाई फिल्म खेलेर देखाउन चुनौती दिएकी हुन्।

चलचित्रमा तीन करोड जनतालाई खुसी बनाउनु पर्ने उनले बताइन्।

शनिबार राप्रपा महाधिवेश स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग बोल्दै थापाले भनिन्, ‘एक पटक फिल्म खेलेर देखाउनुस्। म वैशाखमा फिल्म बनाउँदै छु। हिरोइनकै रोल त गाह्रो होला। म आमाको रोलहरु केही दिन्छु। उहाँले एक पटक ट्राइ गरे हुन्छ। हाम्रो फिल्म क्षेत्रमा चाहीँ डाइरेक्टरलाई खुसी बनाएर हुँदैन। तीन करोड जनतालाई खुसी बनाउनुपर्छ।’

एक जना नेताको प्रिय भएर राजनीति नहुने थापाले बताइन्। उनले भनिन्, ‘महिला सशक्त हुनुपर्छ र महिला पनि प्रतिस्पर्धाबाट आउनुपर्छ भन्ने हिसाबले पनि मेरो उम्मेदवारी हो। उहाँ दुई–दुई पटक सांसद, मन्त्री हुनुभएको छ, एक जना नेताको कृपाले। अरु महिलाहरु थिएनन् पार्टीभित्र? महिला कोटाबाट उहाँ नै उठ्नुपर्ने? खुल्लाबाट उठ्न सक्नुहुन्नथ्यो? एक जना नेतालाई खुसी बनाएर, एक जना नेताको प्रिय पात्र भएर राजनीति हुँदैन।’

पार्टीभित्रको यस्तो टिके प्रवृतिविरुद्ध आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

राप्रपाको जारी महाधिवेशनमा कुन्ती शाहीले कमल थापाको प्यालनबाट र रेखा थापाले राजेन्द्र लिङ्देनको प्यालनबाट महामन्त्रीमा उम्मेदवारी दिएकी छन्।

तस्बिरहरुः बर्षा शाह/देश सञ्चार। 

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्