कांग्रेस अधिवेशनः प्रदेश १ मा मतदान प्रक्रिया सुरु

मोरङ  – नेपाली कांग्रेस प्रदेश १ प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा करिब ६ घण्टा ढिलो सुरु भएको छ।

विराटनगरको शंकरपुरस्थित खुला मैदानमा आयोजित निर्वाचन प्रक्रियाका लागि बिहानैबाट मतदाता प्रतिनिधि पुगे पनि निर्वाचन समितिको त्रुटिका कारण समयमा प्रक्रिया सुरु हुन सकेको थिएन।

निर्वाचनका लागि बनाइएको मतपत्रमा इलामका तीन सदस्य श्याम खड्की, शान्तिकला तामाङ र जीवन नेपालीको नाम छुटेपछि बिहान कार्यक्रम सुरु हुन सकेको थिएन। यद्यपि, समितिले सबैको नाम समावेश नभएका सदस्यसहितको मतपत्र बनाएपछि दिउँसो करिब २ बजेबाट मतदान सुरु भएको हो।

प्रदेशको सभापतिका लागि डा. शेखर कोइरालानिकट गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षका उद्धव थापाबीच स्पर्धा छ। त्यसैगरी, उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझी प्रतिस्पर्धामा छन्। यस्तै, महामन्त्रीमा दीपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गा छन्। सहमहामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बू, अञ्जना ताम्ली, रोहित साह, सुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापा छन्।

अधिवेशनमा सिटौला समूहका थापालाई संस्थापन पक्षको सहयोग छ भने घिमिरेलाई संस्थापन इतर रामचन्द्र पौडेल र डा. शेखर कोइरालाको समर्थन छ।
जिल्लागत आँकडामा संस्थापन पक्ष बलियो देखिए पनि समग्र प्रदेशमा संस्थापनइतर पक्ष नै दरिलो अवस्थामा रहेको देखिन्छ। जिल्ला तहमा संस्थापन पक्षले प्रदेशका ७ वटा जिल्लामा सभापति जितेको छ।

त्यस्तै, पौडेल कोइराला पक्षले ६ वटा र सिटौला पक्षले एउटा जिल्लामा सभापति जितेको छ। संस्थापन पक्षले ताप्लेजुङ, पाँचथर, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, इलाम र धनकुटा जिल्लामा सभापति जितेको छ।

पौडेल कोइराला पक्षले तेह्थुम, भोजपुर, संखुवासभा, खोटाङ, सुनसरी र मोरङमा जिल्ला सभापति जितेको छ भने सिटौला पक्षले झापामा जिल्ला सभापति जितेको छ।

प्रदेश १ मा १ हजार ७ सय ७० प्रतिनिधि रहेकामा पौडेल कोइराला पक्षसँग करिब १ हजार र पौडेल सिटौला पक्षसँग करिब ८ सय बराबर प्रतिनिधि रहेको देखिएको छ।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्