‘कोरोनाका बेला जनस्वास्थ्यकर्मीको भूमिका सराहनीय’

वीरगञ्ज – कोरोनाको पहिलो र दोस्रो लहरका बेला देशका विभिन्न स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्यकर्मीको भूमिका सराहनीय रहेको स्वास्थ्य क्षेत्रसित आबद्ध वक्ताहरूले बताएका छन्।

वीरगञ्जमा शनिबार आयोजित नेकपा माओवादी केन्द्रनिकट अखिल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बारा, पर्सा समितिको घोषणा सभालाई सम्बोधन गर्ने वक्ताहरूले कोभिडका बेला स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्यकर्मीले बिरामीको हेरचाह सबैभन्दा बढी सक्रिय भएर गरेको बताएका छन्।

घोषणा सभालाई सम्बोधन गर्दै नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निरज सिंहले कोरोनाको समयमा जनस्वास्थ्यकर्मीको मिहिनेत र लगनशीलताले नै कोरोना संक्रमणलाई परास्त गर्न सकिएको बताए।

उनले जनस्वास्थ्यकर्मी निडर र लगनशील भएर कोरोना कालमा खटेका कारण जनतालाई स्वास्थ्य सेवा सहजै प्राप्त भएको जिकिर गरे।
कोरोना फैलिएका बेला जनस्वास्थ्यकर्मीको मिहिनेतलाई बिर्सिन नसकिने भन्दै उनले अहिले फेरि कोरोनाको नयाँ भेरियन्टले ढोका ढकढकाउन लागकोले यसतर्फ सबै जना सचेत हुनुपर्ने आवश्यकता रहेको बताए।

कोरोना कालमा गाउँ–गाउँका थुप्रै बिरामी सहज स्वास्थ्यबाट वञ्चित भइरहेका बेला जनस्वास्थ्यकर्मीले उक्त समयमा बिरामीको सेवा निडर भएर गरेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका पूर्वप्रमुख कामेश्वर चौरसियाले जानकारी दिए।

उनले नेकपा माओवादी केन्द्रनिकट अखिल प्रगतिशील जनस्वास्थ्यकर्मीको गठन पर्सा जिल्लामा आफूले सबैभन्दा पहिले गरेको बेलामा संगठनमा आबद्ध जनस्वास्थ्यकर्मीहरू निकै कम भएको तर अहिले त्यो संख्या बढेकोमा खुसी व्यक्त गरे।

उनले सबै जनस्वास्थ्यकर्मीलाई जनताको सेवामा निर्धक्क भएर लाग्न आग्रहसमेत गरे। सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र पर्साका सचिव बालेश्वर चौधरीले जनयुद्धकालमा जनस्वास्थ्यकर्मीले नै जनमुक्ति सेनाका घाइतेलाई सबैभन्दा बढी उपचार गरेको बताए।

उनले जनस्वास्थ्यकर्मीको जनयुद्ध सफल हुनुमा निकै ठूलो भूमिका रहेको बताउँदै अब जनताको सेवामा लाग्न संगठनमा आबद्ध सबै स्वास्थ्यकर्मीलाई आग्रह गरे।

महासंघ पर्साका अध्यक्ष छठु चौधरीले कोरोनाका बेला जनस्वास्थ्यकर्मी फिल्डदेखि लिएर क्वारेन्टाइनलगायत आफ्नो ज्यानको परवाह नगरी खटेको स्मरण गरे।

उनले अब घोषणा हुने महासंघका नयाँ कार्यसमितिलाई जनस्वास्थ्यकर्मीको समस्यााबारे आवाज उठाइदिन अनुरोध गरे। जारी घोषणा सभाको बन्दसत्रले अखिल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बारा पर्सा समितिको नयाँ कार्यसमिति घोषणा गर्नेछ।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्