एमाले सरकारमा आउन एक वर्ष पनि पर्खनु पर्दैनः ओली

फाइल फोटो।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरे।

काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रतासाथ अघि बढाउने आश्वासनसमेत दिए। उनले सम्पदाको पुनर्निर्माण, राजमार्गलगायत पूर्वाधार निर्माण देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको दोहो र्‍याए।

उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्तालाई आह्वान गरे।

‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो। एक वर्षमा चुनाव हुनै पर्छ। एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसको सरकार बन्छ देशमा। त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो। त्यसपछि हामी पुनर्निर्माण र नवनिर्माणको काम अगाडि बढाउँछाैँ। र, देशलाई समृद्धिको बाटोमा लान्छौं,’ उनले भने।

एमालेले समृद्धिको अभियान अघि बढाउँछ भन्नेमा आफू ढुक्क भएको उनले बताए। अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरे पनि अरु कसैले फुस्काइदिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्नेमा जोड दिए।

उनले अघिल्लो पटक नेपाललाई भूजडित देशको रूपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको दाबीसमेत गरे।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्