भास्कर–तेजश्री प्रतिष्ठानद्वारा ‘लैंगिक असमानता, यौन दुर्व्यवहार र आत्मरक्षा तालिम’ प्रदान

काठमाडौँ– दिवंगत अधिवक्ता तेजश्री थापाको पुनित स्मृतिमा भास्कर–तेजश्री मेमोरियल प्रतिष्ठानले लैंगिक असमानता, यौन दुर्व्यवहार, बलात्कार र आत्मरक्षा सम्बन्धी चार दिने तालिम प्रदान गरेको छ।

प्रतिष्ठानले ‘घरबाटै शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ भइरहेको १६ दिने विश्वव्यापी लैंगिक हिंसाविरुद्धको अभियानमा सहभागिता जनाउँदै हिंसाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले गोदावरी नगरपालिकाका ४ वटा विद्यालयका बालबालिकालाई तालिम प्रदान गरेको हो।

लैंगिक असमानता र यौन दुर्व्यवहार रोकथामका लागि यस्ता कार्यक्रमले मुख्य भुमिका खेल्ने गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीले बताइन्।

उनले भनिन्, ‘१६ दिने लैंगिक हिंसाविरुद्धको अभियानका सन्दर्भमा आयोजित यो तालिम लैंगिक असमानता र यौन दुर्व्यवहार रोकथामको लागि उपयोगी हुनेछ। तपाईंहरुले सिकेका कुराहरु आफ्नो साथीभाइहरुलाई सेयर गरेर यो अभियानलाई सफल बनाउन बनाउनुहोस्।’

सातै प्रदेशका सामुदायिक विद्यालयहरुमा संचालन गरिने यो तालिमले बालबालिकालाई अपराधलाई प्रतिरोध गर्न नवयुवा विद्यार्थीहरुलाई नै सक्षम बनाउनका लागि यस कार्यक्रमले मद्दत पुग्ने प्रतिष्ठानले विश्वास लिएको छ।

प्रतिष्ठानले मंसिर १४ गतेबाट सुरु गरेको उक्त तालिममा गोदावरी नगरपालिकाका ४ विद्यालयका करिब तीन सय बालबालिकालाई लैंगिक असमानता र यौन दुर्व्यवहार प्रतिरोध गर्न सिकाएको थियो।

कार्यक्रमका विशेष प्रशिक्षक, मानव अधिकारकर्मी लगायत सम्बन्धित सरोकारवालाले तालिम प्रदान गरेका थिए। यस्तै दिवंगत थापाले यौन दासत्व र बलात्कारलाई मानवताविरुद्धको अपराधका रुपमा परिभाषित गर्न मूख्य खेलेकी थिइन्।

मानव अधिकारका क्षेत्रमा थापाले पुर्‍याएको योगदानहरुलाई निरन्तरता दिने हेतुले समाजमा विद्यमान लैंगिक असमानता र यौन दुर्व्यवहारजस्ता मानवताविरुद्धका बारेमा जनचेतना फैलाउँदै आएको प्रतिष्ठानले जनाएको छ।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्