ए डिभिजन लिगः एनआरटी र च्यासलबीच १–१ को बराबरी

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा न्युरोड टिम एनआरटी र च्यासल यूथ क्लबले बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको दोस्रो खेलमा च्यासल र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

च्यासलले पहिलो हाफमा एक गोल गर्दा एनआरटीले दोस्रो हाफमा बराबरी गोल गरेको थियो। खेलको ४३औं मिनेटमा रुमेश बर्तौलाले गरेको गोलबाट च्यासलले अग्रता लिएको थियो। एनआरटीका मेसुके ओलोउमोउको हेड रिबान्डमा अनमार्क रहेका रुमेशले आकर्षक गोल गरे।

७९औं मिनेटमा वैकल्पिक दीपेश घलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए। एनआरटीका नवीन गुरुङको क्रस च्यासलका राजीव लोप्चाङबाट डिफ्लेक्ट हुँदा दीपेशले बक्सभित्रबाट सहजै गोल गरे।

खेलको म्यान अफ दी म्याच च्यासलका कविराज महर्जन भए। बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको च्यासलले दोस्रो खेलमा एपीएफलाई १–० ले पराजित गरेका थियो।

यता एनआरटीको भने यो दोस्रो बराबरी हो। पहिलो खेलमा मछिन्द्र क्लबसँग २–१ ले पराजित भएको एनआरटी दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग बराबरीमा रोकिएको थियो। –न्युज कारखाना

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्