सरकारले ३ बुँदे सहमति कार्यान्वयन गर्न चाहेनः विप्लव

मोरङ – नेकपा माओवादीसँग गरिएको ३ बुँदे सहमति सरकारले कार्यान्वयन गर्न नचाहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आरोप लगाएका छन्।

विराटनगरमा शनिबार आयोजित नेकपाको पूर्वाञ्चलस्तरीय बृहत् जनसभामा चन्दले सरकारले पार्टीसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्न नचाहेको उल्लेख गरे।

सहमतिअनुरूप तत्कालीन ओली सरकारले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरे पनि पार्टीका नेता–कार्यकर्तामाथि लगाइएका विभिन्न मुद्दा फिर्ता र कारागारमा रहेका कार्यकर्तालाई रिहा गर्न नचाहेको उनले बताए।

उनले भने, ‘ओली सरकारले सहमति कार्यान्वयनका लागि तीन महिनासम्म अलमल्याउँदै लम्ब्यायो। कार्यान्वयन गर्न मानेन। सोही सहमति कार्यान्वयनका लागि वर्तमान सरकारले समेत आलटाल गरिरहेको छ। हामीलाई कतै दबाव दिन, घेराबन्दीमा राख्न खोजेजस्तो महसुस भएको छ।’

सरकारलाई ३ बुँदे सहमति कार्यान्वयनलाई इमान्दारपूर्वक लागू गर्न चन्दले आग्रह गरेका छन्। उनले भने, ‘हतियारको विषयलाई राख्नु थियो भने, ३ बुँदे सहमतिपूर्व गर्नुपर्थ्यो। सुरुमा सहमति गर्ने र अहिले पुनः हतियारको विषय अघि सारेर ३ बुँदे सहमति भाँड्न खोज्नु सही होइन।’

जनसभाका क्रममा उनले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको मुलुकसँगको सम्झौता राष्ट्रघाती भएको बताएका थिए। सरकारले राष्ट्रघाती एमसीसी सम्झौताको तयारी गरिरहेको बताउँदै चन्दले सम्झौता मुलुकको हितविपरीत रहेको उल्लेख गरे।

सरकारले राष्ट्रघाती एमसीसी सम्झौता पास गर्ने तयारी गरेको भन्दै उनले आक्रोश व्यक्त गरे। सम्झौता राष्ट्रको हितविपरीत रहेको उनको भनाइ छ। राष्ट्रघाती सम्झौता गर्न नदिन सबै नागरिकलाई उनले आह्वान गरेका छन्।

त्यसैगरी, सूचनाप्रदायक संस्था एनसेलले कर नतिरेकामा उनले आपत्ति जनाए। सरकारले मुलुकको अर्बौ रकम अपचलन गर्दै कर नतिर्ने संस्थालाई कारबाही गर्न नसकेको बताए। मुलुकको स्वाधीनता, जनताको अधिकार, न्यायका लागि बलिदान दिन तयार रहेको चन्दले बताए।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्