एमाले इलामको अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

इलाम– नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन्। पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए। नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशौँ महािधवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो।

एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केशी नेकपा एकिकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ। एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफेर गरेको छ। एमालेले संगठन विभागको जिम्मेवारी उपसचिव उमेश गुरुङ्गलाई तोकेको छ।

त्यस्तै, प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रकाश अधिकारीलाई दिएको छ। बुद्धिजिवी विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ भने अर्थ विभाग प्रमुखको जिम्मेवारी डा. देवी क्षेत्री दुलाललाई सुम्पेको छ। यी विभागको प्रमुखमा रहेकाहरू माथिल्लो कमिटीमा निर्वाचित भएपछि विभागीय जिम्मेवारी हेरफेर भएको नेकपा एमाले इलामका उपसचिव उमेश गुरुङ्गले जानकारी दिए।

यस्तै, आजकै बैठकले अखिल नेपाल महिला संघको इञ्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नम्बर २ को इञ्चार्जमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ। –न्युज कारखाना

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्