आजदेखि बाघ गणना, गणकहरु तयारी अवस्थामा

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाटेबाघ । तस्बिर : राजु गुरुङ

काठमाडौँ – राष्ट्रिय बाघ गणनाको तयारी पूरा भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जानकारी दिएको छ।

बाघ पाइने प्रमुख तीन क्षेत्रमा गरिने गणनाको तयारी पूरा भएर गणकहरुको टोली कार्यक्षेत्रमा तयारी अवस्थामा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट वेदकुमार ढकालले जानकारी दिएका हुन्।

‘बाघ गणनाको औपचारिक उद्घाटनका लागि वनमन्त्री रामसहाय प्रसाद यादव चितवनको सौराह आइसक्नु भएको छ। हामीले सबै तयारी पूरा गरेका छौँ, बिहान ११ बजे उद्घाटन भएपछि औपचारिक रुपमा गणना सुरु हुनेछ’, ढकालले भने।

पहिलो चरणमा चितवन–पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा गणना हुनेछ। त्यसका लागि करिब १०० जनाको गणक टोली सात हात्तीसहित चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र त्रिवेणी पुगेको उनले जानकारी दिए। ‘चितवन–पर्सा निकुञ्जलाई तीन ब्लकमा विभाजन गरेर गणना हुँदैछ, टोली पश्चिमबाट गणना गर्दै पूर्व आउने छ’, सौराहमा रहेका इकोलोजिस्ट ढकालले भने।

बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मंसिर २९ गतेदेखि गणना हुँदैछ। शुक्लाफाँटा क्षेत्रमा भने चितवन–पर्सामा गणना सकेपछि सोही टोलीले गणना गर्ने ढकालले बताए।

गणकहरुको सुरक्षालाई लिएर आफूहरुले राम्रो व्यवस्था गरेको र त्यसकै लागि गणकलाई तालिम पनि प्रदान गरिएको विभागले जनाएको छ। विभागको नेतृत्वमा हरेक चार वर्षमा बाघको गणना हुँदै आएको छ।

पहिलो चरणमा बाघको संख्या, त्यसपछि बाघको बासस्थान तथा आहार, प्रजातिको अवस्थाबारे अध्ययन गरेर गणनाको प्रतिवेदन आउँदो वर्षको जेठ–असारसम्म सार्वजनिक गर्ने विभागको लक्ष्य छ।

बाघ गणनाका लागि विभागका महानिर्देशकको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख, वन तथा भू–संरक्षण विभागका महानिर्देशक, नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयका प्रमुख, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव, विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि तथा जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि रहेको सल्लाहकार समिति बनाइएको छ। त्यस्तै इकोलोजिस्ट वेदकुमार ढकालको संयोजकत्वमा केन्द्रीय प्राविधिक समिति बनाएर काम भइरहेको विभागले जनाएको छ।

बाघ पाइने क्षेत्रलाई तीन भागमा विभाजन गरेर गणना गरिँदै छ। चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणना हुने विभागले जनाएको छ। गणनाका लागि चिवतन–पर्सामा सातवटा, बाँके–बर्दियामा तीन र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा तीनवटा हात्ती प्रयोग हुनेछन्। गणना कार्य ७२ दिनमा सक्ने तयारी छ। गणनामा ३०० जना जनशक्ति खटिने छन्।

बाघ पाइने तीन क्षेत्रमा एक हजार ९२४ वटा ग्रिड बनाइ ३ हजार ३२८ वटा क्यामेरा ट्रयाप प्रयोग गरिने छ। गणनाका लागि नेपाल सरकार, डब्लुडब्लुएफ नेपाल र जेडएसएल नेपालले आर्थिक तथा प्राविधिक एवं राष्ट्रिय प्रकृति संरक्षण कोषबाट प्राविधिक र व्यवस्थापकीय सहयोग उपलब्ध हुने विभागले जनाएको छ। बाघ गणनाको सबै काम पूरा गर्नका लागि झण्डै तीन करोड ७० लाख खर्च लाग्ने अनुमान विभागको छ।
‘टाइगर एण्ड प्रेय बेस मोनिटरिङ प्रोटोकल २०१७’ अनुसार क्यामेरा ट्रयापिङ र अकुपेन्सी सर्वे विधिबाट बाघ गणना हुने डब्लुडब्लुएफ नेपालका डा कञ्चन थापाले जानकारी दिए। ‘गणनामा क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेञ्ज फाइन्डर, जीपीएस, रेकर्ड फर्मसहितका सामग्री प्रयोग हुनेछन्’, डा थापाले भने।

विश्वभर पाटे बाघको संख्या निकै कम हुँदै गएको परिवेशमा सन् २०१० मा भएको विश्व बाघ सम्मेलनले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउने लक्ष्य निर्धारण गरेको थियो। सोहीअनुरुप नेपालले पनि बाघको संख्या सन् २०२२ सम्ममा २५० पुर्‍याउने लक्ष्य लिएको छ।

विश्वका १३ वटा देशमा पाटे बाघ पाइन्छ। नौमध्ये तीन प्रजाति लोप भइसकेका छन्। नेपालमा पाइने पाटे बाघ भारत, भूटान र बंगलादेशमा मात्रै पाइने गरेको विज्ञले बताएका छन्। विश्वमा ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो। पछिल्लो पटक सन् २०१८ मा भएको गणनाअनुसार नेपालमा बाघको संख्या २३५ थियो। सो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ छन्। तर अहिले यो संख्या बढेको अनुमान छ। नेपालमा सन् १९९५–९६ मा वयस्क बाघको संख्या ९३–९७ वटा रहेको अनुमान गरिन्छ। त्यसपछि सन् २००९ मा विधिवत रुपमा भएको गणनामा १२१, सन् २०१३ मा १९८ र २०१८ मा २३५ वटा वयस्क बाघ पुगेको अनुमान गरिएको थियो।

मंसिर १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्