राष्ट्रिय बाघ गणना चितवन राष्ट्रिय निकुञ्जबाट सुरु

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाटेबाघ । तस्बिर : राजु गुरुङ

काठमाडौँ– राष्ट्रिय बाघ गणना सुरु भएको छ । वनमन्त्री रामसहाय प्रसाद यादवले चितवनको सौराहामा शनिबार एक कार्यक्रमबीच बाघ गणनाको उद्घाटन गरेका हुन्।

उद्घाटनसँगै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट गणकहरुले काम थालेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट वेदकुमार ढकालले जानकारी दिए।

पहिलो चरणमा चितवन–पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा गणना हुनेछ। त्यसका लागि करिब १०० जनाको गणक टोलीले सात हात्तीसहित चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र त्रिवेणीबाट गणना थालेका हुन् ।

बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मंसिर २९ गतेदेखि गणना हुँदैछ। शुक्लाफाँटा क्षेत्रमा भने चितवन–पर्सामा गणना सकेपछि सोही टोलीले गणना गर्ने ढकालले बताए।

गणकहरुको सुरक्षालाई लिएर आफूहरुले राम्रो व्यवस्था गरेको र त्यसकै लागि गणकलाई तालिम पनि प्रदान गरिएको विभागले जनाएको छ। विभागको नेतृत्वमा हरेक चार वर्षमा बाघको गणना हुँदै आएको छ।

पहिलो चरणमा बाघको संख्या, त्यसपछि बाघको बासस्थान तथा आहार, प्रजातिको अवस्थाबारे अध्ययन गरेर गणनाको प्रतिवेदन आउँदो वर्षको जेठ–असारसम्म सार्वजनिक गर्ने विभागको लक्ष्य छ।

बाघ पाइने तीन क्षेत्रमा एक हजार ९२४ वटा ग्रिड बनाइ ३ हजार ३२८ वटा क्यामेरा ट्रयाप प्रयोग गरिने छ। गणनाका लागि नेपाल सरकार, डब्लुडब्लुएफ नेपाल र जेडएसएल नेपालले आर्थिक तथा प्राविधिक एवं राष्ट्रिय प्रकृति संरक्षण कोषबाट प्राविधिक र व्यवस्थापकीय सहयोग उपलब्ध हुने विभागले जनाएको छ। बाघ गणनाको सबै काम पूरा गर्नका लागि झण्डै तीन करोड ७० लाख खर्च लाग्ने अनुमान विभागको छ।

पछिल्लो पटक सन् २०१८ मा भएको गणनाअनुसार नेपालमा बाघको संख्या २३५ थियो। सो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ छन्। तर अहिले यो संख्या बढेको अनुमान छ।

मंसिर १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्