विषयप्रवेश
स्वतन्त्र राष्ट्रमा आफ्ना परम्परागत विषयहरूमा जनताले गौरवबोध गर्ने वातावरण बनाइनुपर्छ । तर शिक्षाका नाममा हाम्रा परम्परागत विषयमा आजभोलि धेरै गलत विचार प्रवाहित गरिँदै छन् । पुराना कुरा नराम्रा थिए नयाँ कुरा राम्रा आए भनेर केटाकेटीलाई सिकाउने गरिन्छ । हाम्रा पुर्खा अनपढ र अज्ञानी थिए, हामीचाहिँ जान्नेसुन्ने भयौँ, अब पुर्खाले चलाएको चलन मान्न हुँदैन भनेर कुसंस्कार हाल्न पनि खोजिएको छ । यस्तो नियोजित रूपमै भइरहेको देखिन्छ । फलस्वरूप भुटेका मकै–भटमास, रोटी, चिउरा इत्यादि स्वस्थकर र प्राकृतिक खाजा खान छाडेर चाउचाउ, बिस्कुट, कुर्कुरे इत्यादि अप्राकृतिक पत्रु खाद्य पदार्थको खाजा खान चाहने नयाँ पुस्ता तयार भएको छ ।

व्रतबन्ध गर्दा राखिएको टुप्पी पाल्न लाज मानेर काट्ने र विदेशी टाई लगाउँदा चाहिँ गौरवबोध गर्ने धेरै छन् । आफ्ना धर्म–संस्कृति अनुसारका चाडपर्व मनाउनुलाई पछौटेपन ठान्ने तर विदेशी चाडपर्वचाहिँ धुमधामसित मनाउने प्रवृत्ति पनि बढेको छ । राम्ररी विचार गर्दा देशमा धेरै कुरा पश्चिमी समाजका अनुकरणमा चलाउन खोजिँदै गरेको अनुभव हुन्छ । आफ्ना मातृभूमि, जाति, धर्म, संस्कृति, दर्शन, रीतिथिति, वेषभूषा, आचारविचार, खानपान इत्यादिका मूल्यमान्यतालाई आदर गर्ने र तिनमा गौरवानुभूति गर्ने व्यक्ति कमकम हुँदै छन् । यसलाई दासताको र पछौटेपनको परिणाम भन्न सकिन्छ ।

हाम्रो समाजको अत्यन्त सुदृढ विवाहसंस्थालाई पनि गलत कुराको प्रचार गरेर शिथिल बनाउने प्रयास गरिँदै छ । विवाहमा गरिने कन्यादानको मर्म नबुझ्नेहरु र जसरी भए पनि हाम्रा परम्परागत मूल्य–मान्यतामा खोट वा दोष देखाउनुपर्छ भनेर लागिपर्ने व्यक्तिहरू अचेल धेरै नै देखिन्छन् । यस्तै स्थिति रहिरहे एकदुई पुस्तामा नै हाम्रो पारिवारिक सम्बन्ध पश्चिमा समाजको जस्तो अत्यन्तै शिथिल भएर छिन्नभिन्न हुन बेर लाग्ने छैन । तसर्थ हाम्रा देशका विचारशील तथा गम्भीर अभिभावक, समाजशास्त्री, शिक्षाविद्, पत्रकार इत्यादिले यससम्बन्धमा बेलैमा सचेत भएर काम गर्नुपर्ने देखिन्छ ।

विवाहसंस्कार
जन्मभन्दा अघिदेखि मृत्युपर्यन्त विभिन्न समयमा मनुष्यलाई परिष्कृत पार्न गरिने विशेष कर्महरूलाई संस्कार भन्दछन् । संस्कारले प्राकृतिक रूपमा रहने विभिन्न दोषहरू हटाई मनुष्यलाई परिष्कृत वा सुसंस्कृत पारी योग्य बनाउने काम गर्दछन् । मनुष्य जन्मँदा प्रायः पशुसमान प्राणी हुने हुँदा उसमा दया, क्षमा, अनसूया, शौच इत्यादि मनुष्योचित गुणहरूको आधान गर्न र उसलाई आत्मज्ञान गर्ने उच्च भावभूमिमा पुर्‍याउनसमेत गर्भाधानका समयदेखि नै संस्कार गर्नुपर्ने हुन्छ । मनुस्मृतिले शास्त्रनिर्दिष्ट गर्भाधानादि संस्कारलाई शरीरको (सूक्ष्मशरीरको समेत) संस्कारका निमित्त गरिने हो भन्ने मानेको छ—

वैदिकैः कर्मभिः पुण्यैर्
निषेकादिद्र्विजन्मनाम् ।
कार्यः शरीरसंस्कारः
पावनः प्रेत्य चेह च ।। —२।२६ ।

संस्कारहरूमा गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, कर्णवेध, उपनयन, वेदा¬रम्भ, केशान्त, समावर्तन, विवाह, अग्न्याधान र अन्त्येष्टि क्रिया प्रमुख हुन् । तीमध्ये विवाह संस्कार अत्यन्त महत्त्वपूर्ण संस्कार हो । यस संस्कारलाई सबै जातिका मानिसले उत्तिकै महत्त्व दिएको देखिन्छ ।

वैदिक विवाहको अवधारणा र महत्त्व
स्त्री र पुरुषको धर्मानुकूल यौनसम्बन्धका निम्ति, सन्तानोत्पादनका निम्ति तथा गृहस्थाश्रमको निर्वाहका निम्ति विवाह संस्कार गरिने कुरा शास्त्रबाट बुझिन्छ । विवाहबाट पुरुष सर्वाङ्गपूर्ण भई प्रजनन गर्न र गृहस्थधर्म पालन गर्न समर्थ हुने हुनाले विवाह अत्यन्त महत्त्वपूर्ण संस्कार मानिएको हो । वंशपरम्परालाई अविच्छिन्न राख्न र पितृऋणबाट मुक्त हुन पनि सन्तान आवश्यक पर्ने भएकाले समर्थ तथा योग्य व्यक्तिका लागि विवाह अनिवार्यजस्तै देखिन्छ । ऋग्वेद, यजुर्वेद र अथर्ववेदमा विवाहसम्बन्धी सुव्यवस्थित उल्लेखहरू प्रशस्त पाइन्छन् । गृह्यसूत्रहरूमा विवाहको विधि विस्तृत रूपले देखाइएको छ । विवाहका मुख्य कर्महरूमा वरबाट कुमारीलाई वस्त्रप्रदान, कन्यादान, आघारादिहोम, राष्ट्रभृद्होम, जयहोम, कुमारीबाट लाजाहोम, वरबाट वधूको पाणिग्रहण, वरबाट वधूलाई अश्मारोहण (सिलौटोमा खुट्टा टेकाउने काम), अग्निपरिक्रमण (माड घुम्ने काम), सप्तपदी (प्रक्रमण सात पाइला हिँड्ने काम), वरबाट कुमारीको हृदयको आलम्भन, आचार्यलाई दक्षिणादान इत्यादि प्रमुख हुन् । अनादि कालदेखि नै वैदिक धर्मानुयायीहरूले यस्तै विधिको अनुपालन गर्दैआएको बुझिन्छ । शास्त्रीय विधिले विवाह गर्नु र एक पटक विवाह भैसकेपछि त्यो परिवर्तित नहुनु वैदिक विवाहको विशेषता हो । विधि पूर्ण नगरीकनै लोग्ने–स्वास्नी भएर सँगै बस्ने र बच्चा जन्माउने कामलाई चाहिँ शास्त्रमा तल्लो दर्जाको कार्य मानिएको छ ।

वैदिक धर्मविवाहजस्तै देखिने सामाजिक सम्झौताको विवाह पनि समाजमा प्रचलित छ । किन्तु यस्तो विवाह धर्मविवाहभन्दा अत्यन्तै फरक कुरा हो । यस्तो विवाह गरेर बसेका लोग्नेस्वास्नीको विशेष अवस्थामा विवाहविच्छेद हुन पनि सक्छ, किन्तु शास्त्रअनुसार अग्नि र ब्राह्मणलाई साक्षी राखेर पवित्रतापूर्वक वैदिक मन्त्रद्वारा वरवधूका प्राण, हाड, मासु र छालाको एकीकरण हुने गरी गरिएको धर्मविवाहको भने कुनै पनि अवस्थामा शास्त्रीय रूपले विच्छेद हुन सक्तैन । यो कुरा कौटलीय अर्थशास्त्रबाट पनि स्पष्ट बुझ्न सकिन्छ— (अमोक्षो धर्मविवाहानाम् ३।३)।

विवाहमा चतुर्थीकर्म गरेपछि वर र वधूको शारीरिक एकीकरण हुने मान्यता छ । नेपाली समाजमा उपाध्याय ब्राह्मणहरूले यस्तै धर्मविवाहलाई मात्र विशेष मान्यता दिँदै आएका छन् । अरूहरूले पनि धर्मविवाहलाई नै कल्याणकारी मानेर त्यसैको अनुसरण गर्न खोजेको देखिन्छ । यसैबाट समाजमा स्थायी सुख, शान्ति र सन्तोषको स्थिति बनिरहन सक्छ । धर्मविवाहकै प्रभाव परेर समाजमा चलिआएका सामाजिक सम्झौताका विवाह पनि प्रायः अविच्छेद्यजस्तै हुने गरेको र सबैको पारिवारिक सम्बन्ध पश्चिमा समाजको भन्दा धेरै नै स्थिर रहिआएको देखिन्छ ।

तसर्थ आदर्श दाम्पत्यजीवनको अवमूल्यन गर्ने खालका टीकाटिप्पणी सामाजिक दृष्टिले घातक देखिन्छन् । यस्ता टीकाटिप्पणीबाट हिन्दू समाज प्रभावित हुन हुँदैन । विवाहको शास्त्रीय अवधारणामा र सुनियोजित रूपमा प्रचारित आधुनिक पश्चिमी अवधारणामा आकाश–पातालको अन्तर छ । साथै विवाहलाई हल्काफुल्का रूपमा लिएर एकआपसमा माला पहिर्‍याएर स्त्रीपुरुष सँगै बसेकालाई विवाह भएको भन्ने हिजोआजका कतिपयले ठानेको वा प्रचारित गरेको कुरा पनि सामाजिक सम्बन्धको पवित्रतामा र दृढतामा बाधा पुर्‍याउने अदूरदर्शी विचार हो भन्ने देखिन्छ ।

कतिपय विदेशी विचारकले समेत हिन्दू विवाहसंस्कारको चरित्र र आदर्शलाई प्रशंसा गरेर पुस्तकहरू लेखेका छन् भन्ने कुरा पनि यस प्रसङ्गमा स्मरणीय छ । तीमध्ये सेक्स्, म्यारिज याण्ड् फ्यामिली इन् वर्ल्ड र रिलिजन्ज् (विश्वका धर्महरूमा यौन, विवाह र परिवार) भन्ने पुस्तक विशेष द्रष्टव्य छ ।

आठ प्रकारका विवाह
शास्त्रमा विवाहका ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच गरी आठ भेद देखाइएका छन्, जसमध्ये पैशाच विवाहलाई अत्यन्त निन्दनीय मानिएको छ । सबै जातिका लागि सबैथरी विवाह स्वीकार्य हुँदैनन्, कुनै जातिका निम्ति कुनै र कुनै जातिका निम्ति कुनै विवाह स्वीकार्य हुन्छन् । उपर्युक्त विवाहहरूमध्ये अघिल्ला चार प्रकारका विवाह मात्र प्रायः सबै मुनिका मतमा प्रशंसनीय र श्रेष्ठ विवाह हुन् जो धर्मविवाह मानिन्छन् । त्यसैले ब्राह्मणका लागि यिनै चार प्रकारका विवाह मात्र प्रशंसनीय हुन्छन् । आठ प्रकारका विवाहको शास्त्रीय लक्षणको तल उल्लेख गरिन्छ ।

जुन विवाहमा योग्य वर बोलाएर वस्त्र, आभूषण इत्यादिद्वारा यथाशक्ति सिँगारिएकी कन्या वरलाई दिइन्छ, त्यो विवाह ब्राह्म (ब्रह्माजीको जस्तो) विवाह भनिन्छ— कन्यादानं कन्यामलङ्कृत्य ब्राह्मो विवाहः कौटलीय अर्थशास्त्र) । आजभोलि जग्गिया बनाएर, हवन गरेर तथा मन्त्र पढेर विधिपूर्वक गरिने धार्मिक विवाह ब्राह्म विवाहसित मिल्ने खालको देखिन्छ ।

यज्ञ गर्दै रहेका बेलामा ऋत्विक्लाई (पुरोहितलाई) वस्त्र, आभूषण इत्यादिद्वारा यथाशक्ति सिँगारिएकी कन्या दिएर गरिने विवाह दैव (देवताको जस्तो) विवाह भनिन्छ— अन्तर्वेद्यामृत्विजे दानाद् दैवः।

स्त्री र पुरुषका सम्बन्धलाई वा विवाहलाई आधुनिक भौतिकतावादी दृष्टिकोणबाट मात्र हेर्नु घातक सिद्ध हुने देखिन्छ । यस्ता सिद्धान्तको अभ्यासबाट सामाजिक र पारिवारिक सम्बन्धमा शिथिलता तथा विखण्डन समेत आइरहेकोे अनुभव हुन्छ । वैदिक धर्मविवाहमा अन्तर्निहित गूढ भावना र त्यसको कल्याणकारितालाई तथा त्यसले व्यक्ति, कुटुम्ब (परिवार) र राष्ट्रमा सुखशान्ति बढाउने कुरालाई हृदयङ्गम गरेर नयाँ पुस्ताका किशोरकिशोरीहरूमा र युवकयुवतीहरूमा पनि वैदिक धर्मको अनुकूल संस्कार बसाउन आवश्यक देखिन्छ ।

गाई र बहरका एक जोडी वरसँग लिएर विधिपूर्वक कन्यादान गरिने विवाह आर्ष (ऋषिको जस्तो) विवाह भनिन्छ — गोमिथुनाऽऽदानादार्षः। यसरी गाई र बहर लिने काम लोभले गरिएको हैन केवल कन्याको सम्मानका लागि हो भन्ने शास्त्रीय मान्यता यहाँ स्मरणीय छ ।

सँगै बसेर धर्मको आचरण गर भनी विवाहका इच्छुक वरलाई कन्यादान गर्नु प्राजापत्य (प्रजापतिको जस्तो) विवाह मानिन्छ— सहधर्मचर्याप्राजापत्यः ।

वरसित धन लिएर कन्यादान गरिएको विवाह आसुर (असुरको जस्तो) विवाह मानिन्छ— शुल्काऽऽदानादासुरः ।

वर र कन्याको परस्पर प्रेम वा सहमतिद्वारा कामोपभोगका निम्ति हुने विवाहलाई गान्धर्व (गन्धर्वको जस्तो) विवाह भन्दछन्— मिथःसमवायाद् गान्धर्वः । शास्त्रीय गान्धर्व विवाहमा बाबु–आमाले कन्यादान दिए पनि नदिए पनि वर र कन्याको सहवास हुनुभन्दा अघि नै विवाहको धार्मिक विधि भने सम्पन्न गर्नैपर्ने कुरा धर्मशास्त्रबाट बुझिन्छ । विवाहको यो विधि विशेष गरी क्षत्रियहरूका निम्ति हो, ब्राह्मणहरूका निम्ति हैन ।

बलजफत हरण गरेर ल्याइएकी कन्यासितको विवाह राक्षस (राक्षसको जस्तो) विवाह भनिन्छ— प्रसह्याऽऽदानाद् राक्षसः ।

निदाएकी कन्यालाई अपहरण गरेर विवाह गर्नु पैशाच (पिशाचप्रकृतिको) विवाह हो— सुप्ताऽऽदानात् पैशाचः । यस्तो विवाह कुनै जातिका निम्ति पनि अनुसरणीय हुँदै हैन । तथापि समाजमा यस्तो स्थिति आएमा के गर्ने भनेर व्यवस्था बाँधिएको हो ।

अन्तर्जातीय विवाह
सबै जाति र वर्गका स्त्रीपुरुषले आआफ्नै जाति र वर्गभित्र विवाह गर्दा नै कल्याण हुने कुरा नारदस्मृतिमा बताइएको छ—

ब्राह्मण–क्षत्रिय–विशां
शूद्राणां च परिग्रहे ।
स्वजात्या श्रेयसी भार्या
स्वजात्यश्च पतिः स्त्रियाः ।।—स्त्रीपुंसयोग, श्लो.४ ।

यसबाट सबै जातिको वैशिष्ट्य सुरक्षित हुन सक्ने र सबैले आआफ्नै जाति, वर्ग तथा परम्परामा गौरवानुभूति गर्न सक्ने परिस्थिति पनि खडा हुने भएकाले यस्तो विवाह अहिले पनि सबैका निम्ति अनुसरणीय देखिन्छ ।अतःवैदिकधर्ममाआस्था र श्रद्धा भएकाले तथा आफ्नो जातीय पहिचान सुरक्षित गर्न चाहने जुनसुकै जातिका व्यक्तिले पनि आआफ्नै जाति र वर्गमा मात्र विवाह गर्न उचित हुन्छ ।

कन्यादानको महत्त्व
योग्य गुणी ब्राह्मण वरलाई कन्यादान दिने कुराको शास्त्रमा धेरै महिमा गाइएको छ । कन्या ग्रहण गर्नेले पनि धर्म, अर्थ र काम पुरुषार्थ सिद्ध गर्दा पत्नीको कहिल्यै अतिक्रमण गर्ने छैन भनेर प्रतिज्ञाबद्ध हुनुपर्ने विधान छ । यसै कार्यको अनुसरण अरू जातिले पनि गरेका हुन् । ब्राह्मणहरूको वंश चलाउन यस कार्यको व्यावहारिक महत्त्व पनि सर्वविदितै छ । कन्यादानभित्र अन्तर्निहित गूढ भावना र त्यस कार्यको महत्त्व नबुझ्नाले तथा पतिपत्नीसम्बन्धलाई केवल भौतिक रूपले मात्रै हेर्ने एकाङ्गी दृष्टिकोण बढ्नाले आजभोलि कतिपय व्यक्ति यसलाई अनुचित ठान्दछन् । किन्तु भौतिक दृष्टिबाट मात्र लोककल्याणकारी राष्ट्रव्यवस्था र समाजव्यवस्था चल्न नसक्ने हुँदा समाजको दिगो कल्याणका निम्ति धार्मिक, आध्यात्मिक र नैतिक पक्षलाई समेत समेटेर हिन्दू धर्मशास्त्रमा विविध व्यवस्था गरिएको हो । कन्या वस्तु हैन, कसरी दान दिन मिल्छ र? भनेर प्रश्न गर्ने पनि छन् । तर अतिमहत्त्वपूर्ण प्रिय तत्त्वको वा व्यक्तिको पनि दान हुन सक्छ । जस्तै—प्राणदान, जीवनदान, कन्यादान, पुत्रदान इत्यादि ।

पुत्रको पनि दान हुन सक्ने कुरा त धेरैलाई थाहै छैन, बाबुआमाले सङ्कल्प गरेर दान दिएको पुत्रलाई दत्तक पुत्र भन्छन् । बाबुआमाका रज–वीर्यले बनेका र दुःखले हुर्काए–बढाएका छोराछोरीमाथि उनीहरूको अधिकार हुनु स्वाभाविक हो । सन्ततिको परम कल्याण चाहने बाबुआमाले सुयोग्य वर खोजेर कन्यादान दिने कुरा शास्त्रमा पाइन्छ । योग्य वर नपाइएमा बुढीकन्या बस्न सकिने व्यवस्था पनि शास्त्रमा गरिएको छ । तसर्थ आस्तिक सज्जनहरूले यस कार्यमा असहमति जनाउन पर्ने कारण छैन ।

कन्यादानभित्र अन्तर्निहित धार्मिक भावनाले पारिवारिक संरचनामा पवित्रता र दृढता ल्याउन सक्छ । साथै यसले विवाहविच्छेदतिर उन्मुख गराउन सक्ने स्त्रीपुरुषका गलत भावनालाई हटाउन सहायता पनि पुर्‍याउँदछ। यसबाट पतिपत्नीलाई, समाजलाई र अन्ततः राष्ट्रलाई पनि भौतिक लाभसमेत हुन्छ । मन लागे सँगै बस्ने, मन नलागे छुट्टिने आधुनिक पश्चिमी संस्कृतिलाई निरन्तरता दिँदा हुने ठूलो हानिबाट आजभोलि पश्चिमी समाज नै आत्तिइसकेको परिप्रेक्ष्यमा हामीले हाम्रा कल्याणकारी परम्परालाई अझ सुदृढ गर्नुको सट्टा बदल्ने चेष्टा गर्ने हो भने त्यस्तो काम आफ्ना खुट्टामा आफैँ बञ्चरो हानेजस्तो हुन जान्छ । तसर्थ यस्ता विषयमा बेलैमा सावधान हुनुपर्दछ ।

निष्कर्ष
स्त्री र पुरुषका सम्बन्धलाई वा विवाहलाई आधुनिक भौतिकतावादी दृष्टिकोणबाट मात्र हेर्नु घातक सिद्ध हुने देखिन्छ । यस्ता सिद्धान्तको अभ्यासबाट सामाजिक र पारिवारिक सम्बन्धमा शिथिलता तथा विखण्डन समेत आइरहेकोे अनुभव हुन्छ । वैदिक धर्मविवाहमा अन्तर्निहित गूढ भावना र त्यसको कल्याणकारितालाई तथा त्यसले व्यक्ति, कुटुम्ब (परिवार) र राष्ट्रमा सुखशान्ति बढाउने कुरालाई हृदयङ्गम गरेर नयाँ पुस्ताका किशोरकिशोरीहरूमा र युवकयुवतीहरूमा पनि वैदिक धर्मको अनुकूल संस्कार बसाउन आवश्यक देखिन्छ । विचारशील अभिभावकहरूले र वास्तविक समाजशास्त्रीहरूले यसतर्फ विशेष प्रयत्न गर्नुपर्दछ ।

मंसिर १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्