नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (मंसिर १२ देखि १८)

ओमिक्रोनले बढाएको जोखिम

प्यान्डेमिकको नियति नै यही रहेछ कि यो कुनै न कुनै बहानामा विश्वको कतै न कतै आइरहन्छ र यसले कुनै न कुनै तहल्का मच्चाइरहन्छ। हालसम्मको अध्ययनले के देखाएको छ भने विश्वमा जबसम्म कोरोना भाइरस रहन्छ तबसम्म यस भाइरसको म्युटेसन् निरन्तर रही नयाँ–नयाँ भेरिएन्ट आउने क्रम जारी रहन्छ र ती नयाँ भेरिएन्ट मानव जातिका लागि कम या ज्यादा खतरनाक दुवै हुन सक्छ।

यद्यपि, भाइरस विज्ञानको सामान्य नियमअनुसार जति म्युटेसन् भयो उति भाइरस कमजोर हुँदै जान्छ तर यो कुरा कोरोना भाइरसमा लागू भएको पाइँदैन।

कोरोना प्यान्डेमिकको इतिहासमा अफ्रिका तुलनात्मक रूपले हालसम्म सुरक्षित र शान्त छ। त्यहाँ हालसम्म विश्वको कुल कोरोना संक्रमणको करिब २.५% भन्दा कम संक्रमण र कुल कोरोना मृत्युको करिब ३.०% भन्दा कम मृत्यु भेटिएको छ। विश्वको करिब १५% जनसंख्या रहेको अफ्रिकामा यति थोरै कोरोना संक्रमण र मृत्यु देखिनु भाग्य नै ठान्नुपर्छ।

हालसम्म विश्वको कुल कोरोना संख्याको एसियामा ३१% संक्रमण र २३% मृत्यु, युरोपमा २८% संक्रमण र २७% मृत्यु, उत्तर अमेरिकामा २२% संक्रमण र २३% मृत्यु र दक्षिणअमेरिकामा १४% संक्रमण र २३% मृत्यु भेटिएको छ।

त्यस अर्थमा अफ्रिकामा हालसम्म कोरोना संख्या र मृत्यु न्यून छ। अफ्रिकामा पनि पटक–पटक प्यान्डेमिक लहर नआएको होइन। सन् २०००को जुलाईतिर पहिलो लहर आउँदा त्यहाँ दैनिक करिब १८००० नयाँ संक्रमण र करिब ३०० मृत्यु देखिएको थियो। गत वर्ष नै डिसेम्बरतिर दोस्रो लहर आउँदा उक्त प्यान्डेमिक लहर पहिलोभन्दा करिब डेढ गुणाले ठूलो भई दैनिक करिब ३१००० नयाँ संक्रमण र १०००नयाँ मृत्यु भेटिएको थियो। त्यस्तै, अफ्रिकाको पछिल्लो लहर यसै वर्षको जुलाईतिर आउँदा प्यान्डेमिक लहर झन् ठूलो भई पहिलो लहरभन्दा दुई गुणाभन्दा ठूलो भई दैनिक नयाँ संक्रमण करिब ४०००० र मृत्यु १२०० सम्म पुगेको थियो।

यसरी अन्यत्रझैं अफ्रिकामा पनि झन् ठूलो प्यान्डेमिक लहर आउने क्रम जारी रहेको देखिन्छ। विश्वको कुल जनसंख्यामध्ये औसतमा करिब ५४%ले एक डोज मात्र भए पनि कोरोना भ्याक्सिन लगाइसकेको अवस्थामा अफ्रिकामा यो संख्या निकै कम छ जुन करिब ११% छ। सामाजिक र आर्थिक दृष्टिले निकै पिछडिएको अफ्रिका, मूलतः केन्द्रीय र दक्षिणी अफ्रिका, निकट भविष्यमा कोरोनाको केन्द्रबिन्दु बन्ने त होइन भन्ने ठूलो शंका रहेको देखिन्छ। त्यसमाथि पछिल्लो समय ओमिक्रोन नामक नयाँ प्रजातिको कोरोना भाइरस, जुन दक्षिणी अफ्रिकी मुलुक बोत्च्वाना र दक्षिण अफ्रिकामा फेला पर्‍यो, यसले अफ्रिका र विश्वलाई कस्तो र कत्रो धक्का दिन सक्छ ठूलो चिन्ता र कौतुहलको विषय बनेको छ। डेल्टा भेरिएन्टभन्दा धेरै आक्रामक भएको शंका गरिएको उक्त नयाँ भेरिएन्ट हाल विश्वको धेरै देशमा फैलिसकेको छ जुन सबैका लागि टाउको दुखाइको विषय बनेको छ।

पछिल्लो समय अफ्रिकामा नयाँ भेरिएन्टको कारण नयाँ लहर आउने लक्षण देखिएको छ। एक हप्ता अघिसम्म दैनिक २५००–४००० नयाँ संक्रमण देखिने गरेकोमा त्यहाँ केही दिनदेखि दैनिक २०००० भन्दा धेरै नयाँ संक्रमण देखिन थालेको छ। स्मरण रहोस्, हाल युरोपमा अहिलेसम्मकै सबैभन्दा ठूलो कोरोना प्यान्डेमिक लहर चलिरहेको छ जहाँ विश्वको कुल दैनिक संक्रमणको करिब ७२% संक्रमण देखिने गरेको छ।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा हाल दक्षिण एसिया शान्त रहेको कुरा यसभन्दा अघिको अंकमा उल्लेख भइसकेको छ र यसरी शान्त हुने क्रम जारी छ।

दक्षिण एसियाको पछिल्लो दुई हप्ताको कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र नम्बर १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक कोरोना संक्रमण गत हप्ता जस्तै अझै कम हुँदै गएको प्रवृत्ति देखिएको छ। त्यस्तै, दैनिक मृत्युको प्रवृत्ति गत हप्ताभन्दा केही कम हुँदै गए पनि यस क्षेत्रको दैनिक मृत्युमा भने खासै कमी आउन सकेको छैन। करिब डेढ महिनाअघि यस क्षेत्रको दैनिक मृत्युदर २% भन्दा कम भएकोमा हाल, पछिल्लो दुई हप्ता, यहाँको मृत्यु दर २.५%–६.०% छ। हाल दक्षिण एसियामा दैनिक करिब ८५००–१२००० नयाँ संक्रमण र ३००–५०० नयाँ मृत्यु देखा पर्ने गरेको छ।

चित्र नम्बर २ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशमा दैनिक संक्रमणमा कमी हुँदै आएको छ भने श्रीलंकामा हाल पनि बेलाबेलामा दैनिक संक्रमणको नयाँ–नयाँ छाल आउने गरेको छ।

त्यस्तै, चित्र नम्बर ३ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु न्यून रही स्थिर प्रवृत्तिको देखिन्छ भने भारत र श्रीलंकामा दैनिक कोरोना मृत्यु केही बढ्न खोजेको छ। भारतमा एक डेढ महिनाको तुलनामा दैनिक संक्रमणमा निकै कमी आए पनि दैनिक मृत्यु भने बेला–बेला बढ्ने क्रम दुई हप्तामा पनि देखियो। त्यस्तै, श्रीलंकामा पनि दुई महिनादेखि दैनिक मृत्युमा सुस्त वृद्धि हुँदै गएको क्रम दुई हप्तामा पनि जारी देखियो।

चित्र नम्बर ४ ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै दुई हप्ताअघि जस्तै सबै देशमा दैनिक संक्रमण दर केही तल–माथिबाहेक स्थिर देखिन्छ। श्रीलंकाको दैनिक संक्रमण दर हाल पनि अन्यत्रको दाँजोमा उच्च देखिए पनि दुई हप्ता अघिको दाँजोमा केही घटेको छ जुन औसतमा करिब १२% जति छ।

 

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गत हप्ता सन् २०२१ नोभेम्बर २८ देखि डिसेम्बर ४ अर्थात् ०७८ साल मंसिर १२ देखि १८ गतेसम्म जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन् जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय डब्लुएचओ, वल्र्ड मिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर, आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

गत साता पनि प्यान्डेमिकका तथ्यांक विश्वभर र नेपालमा पनि उतार–चढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकका आधारमा गत हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरिहेरौँ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएको या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२१ नोभेम्बर २८ देखि डिसेम्बर ४ अर्थात् ०७८ साल मंसिर १२ देखि १८ गतेसम्म जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र नम्बर ५ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्र गन्ती गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत साताको सात दिन, मंसिर १८ गते शनिबारसम्म, देशभरि जम्मा १६६८ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ८२२३९२ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि १९३७ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता १९ रह्यो जुन दुई हप्ताअघि २६ थियो। योसमेत नेपालको जम्मा कोरोना मृत्यु ११५४० पुगेको छ। गत हप्ता जम्मा ५०२७९ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि ५३९२५ थियो।

गत हप्ता काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा४९.७%जति देखिएको छ जुन दुई हप्ताअघि ५१.८८%थियो।

नेपालको दैनिक संक्रमण दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी दर एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परिक्षण गरिएमध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र नम्बर ६ ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर देखाएको छ जुन बढ्दै गएको देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम २.३३% देखि अधिकतम ५.६६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर३.५३%रह्यो जुन दुई हप्ताअघि३.६२% थियो। नेपालमा पछिल्लो समय औसत साप्ताहिक संक्रमण दर कम हुँदै जाने प्रवृत्ति निरन्तर देखिएको छ जुन सुखद पक्ष हो।

संक्षेपमा, गत हप्ता, ०७८ साल मंसिर १२ देखि १८, नेपालमा नयाँ कोरोना संक्रमण, मृत्युदर संक्रमण दर सबै घट्दै जाने क्रम जारी छ जुन गत हप्ता पनि जारी रह्यो। तर, सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण अनुपात बढ्ने क्रम गत हप्ता पनि जारी रह्यो । गत शनिबार मंसिर १८ गते सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको संक्रमण अनुपात करिब ७२% रह्यो, अर्थात् देशको कुल दैनिक नयाँ संक्रमणको ७२% काठमाडौँमा भेटियो, जुन अति उच्च हो। काठमाडौँबासीका लागि यो दुखद कुरा हो।

गत हप्ता दक्षिण एसियामा समग्र रुपमा दैनिक संक्रमण र मृत्युमा कमी आउँदै गएको प्रवृत्ति देखिएको छ। तर, श्रीलंकामा हाल पनि दैनिक संक्रमण दर उच्च हुनु र भारत र श्रीलंकामा दैनिक कोरोना मृत्यु पछिल्लो समय केही बढ्ने क्रममा देखिनुले यस क्षेत्रमा कोरोना प्यान्डेमिकको जोखिम कायमै रहेको संकेत गर्छ। सायद यो कोरोना भाइरसको नयाँ भेरिएन्ट, ओमिक्रोनको कारण हुन सक्छ। त्यस्तै, कोरोना भाइरसको नयाँ भेरिएन्टले अफ्रिकामा नयाँ प्यान्डेमिक लहर ल्याउन सक्ने प्रारम्भिक लक्षण देखिएको छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल युरोपमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यो लेखमा नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

मंसिर १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्