कर्णालीका मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्री लड्ने घोषणा

फाइल फोटो।

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल कांग्रेस केन्द्रीय सदस्य रहेका मुख्यमन्त्री शाहीले आफ्नो आधिकारिक साइटमार्फत उक्त घोषणा गरेका हुन्।

यसअघि साविकको कर्णाली अञ्चल र मध्यपश्चिम विकास क्षेत्रबाट कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका शाहीले सोमबार बिहानै कांग्रेसको १४ औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने सार्वजनिक गरेका हुन्।

उनले आफू स्वाभाविक दावेदार भएको र देशभरका कांग्रेस कार्यकर्ताहरुको सुझावका आधारमा उक्त पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेपछि मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको आवाज उठाउन आफ्नो ध्यान केन्द्रित हुने जानकारी दिए।

कर्णाली र पछाडि परेका क्षेत्रको आवाज उठाउन केन्द्रीय सदस्यमात्रले नपुग्ने बताउँदै उनले यसका लागि कांग्रेसको पदाधिकारीस्तरमा पुग्नुपर्ने भएकै कारण सो पदमा उम्मेदवारी दिनु उपयुक्त भएको बताए। कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा जन्मिएका उनी २२ वर्ष लगातार हुम्ला कांग्रेसको सभापति रहेका थिए।

पिछडिएको क्षेत्रअन्तर्गत साविक कर्णालीका पाँच वटा जिल्ला र जाजरकोट तथा सुदूर पश्चिम प्रदेशका अछाम, बझाङ, बाजुरालगायतका जिल्ला पर्छन्।

उक्त पदका लागि पिछडिएको क्षेत्रका कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले उम्मेदवारी दिन पाउँछन्। उम्मेदवारलाई मतदान भने देशभरकै महाधिवेशन प्रतिनिधिहरुले गर्न पाउँछन्।

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्