ओमिक्रोन संक्रमित मंसिर ३ गते नेपाल भित्रिएका थिए

काठमाडौँ – नेपालमा कोरोनाको नयाँ प्रजाति ओमिक्रोनबाट संक्रमित भएका व्यक्ति मंसिर ३ गते नेपाल भित्रिएको पाइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६६ वर्षीय ती विदेशी नागरिक ओमिक्रोनको संक्रमण भेटिएको मुलुक हुँदै नेपाल आएका थिए। नेपाल आउँदा उनको पीसिआर नेगेटिभ आएको र विमानस्थलमा गरिएको एन्टिजेन परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

तर कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनी मंसिर ७ गते परीक्षण गराउन पुगेका थिए। उनीसँगै उनको सम्पर्कमा आएका ७१ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि सोमबार उनीहरु दुवैलाई ओमिक्रोनकाे संक्रमण भएको पुष्टि भएको हो।

हाल दुवै जना आइसोलेसनमा रहेको र उनिहरुमा कुनै लक्षणहरु नरहेको मन्त्रालयले जनाएको छ। उनिहरुको सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिङ  गरिएको, कन्ट्याक्ट ट्रेसिङमा सम्पर्कमा देखिएका ६६ जनाको पीसिआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

 

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्