हलेसी तुवाचुङमा चाम्लिङ भाषा स्रोत शिक्षक नियुक्त

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर शिक्षक (चाम्लिङ भाषा स्रोत शिक्षक) नियुक्ति गरिएको छ। चाम्लिङ भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविमा प्रावि तहको एकजना नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक) नियुक्ति गरिएको हो।

चाम्लिङ भाषाको पठनपाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाले पहिलोपल्ट नगर शिक्षक (चाम्लिङ भाषा स्रोत शिक्षक) को दरबन्दी सिर्जना गरेको थियो।

१८ मंसिरमा सञ्चालन भएको शिक्षक छनाेट परीक्षाबाट चाम्लिङ भाषी संगीता राई छनेट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश राईले बताए। नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको स्रोत शिक्षकका रूपमा कामकाज गर्नका लागि व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो।

मासिक १३ हजार पाँच सय तलबसुविधा पाउने नियुक्ति पाएकी राईले चाम्लिङलगायत अन्य भाषामा पनि पठनपाठन गर्नुपर्ने जनाएको छ। -न्युज कारखाना

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्