‘लाखे’ का लागि अडिसन मार्फत १० कलाकार छनौट

काठमाडौंँ – चलचित्र ‘लाखे’ का लागि १० कलाकार छनौट भएका छन् । चलचित्र निर्माण टोलीले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म कलेजमा अडिसन गर्दै चलचित्रका लागि एक सह–अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो । चलचित्रलाई सम्राट बस्नेतले निर्माण गर्दैछन्।

‘चलचित्रको पात्र अनुसार अहिले अडिसन दिने मध्यबाट १० कलाकार छानिएका छन्’ निर्देशक बस्नेतले भने ‘थप छानिने कलाकारको सूचि चलचित्रको आधिकारिक फेसबुक पेज तथा इस्टाग्राम मार्फत सार्वजनिक गरिनेछ ।’

चलचित्रका लागि अडिसन मार्फत पहिलो चरणमा छानिने सह– नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहेका छन् ।

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकारको अभिनय रहनेछ भने नायिकाको अहिलेसम्म टुंगो लागेको छैन।

ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा चलचित्रको कथामा सम्पूर्ण रुपमा नसमेटिएको निर्देशक बस्नेतले बताए । उनले भने, ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले चलचित्रको नाम जुराईको हो।’ दिलिप पन्त प्रोडक्सन डिजाइनर रहेको चलचित्रको छायांकन पुसको दोस्रो साताबाट सुरु हुनेछ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको व्यानरमा निर्माण हुने चलचित्रका निर्माण तथा कथाको काम सिजन अर्यालले गर्दैछन्। यो चलचित्रका प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी रहेका छन् भने हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्