वीरगञ्जका विद्यालय देखिएका समस्या समाधान गर्न माग गर्दै सिडिओलाई ध्यानाकर्षण पत्र

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकामा रहेका विद्यालयहरुमा विभिन्न समस्याहरु देखिएपछि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

महानगरमा रहेका सामुदायिक विद्यालयहरु आन्तरिक समस्या र शिक्षकहरुको कमीका कारण बन्द हुने अवस्थामा पुगेपछि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सोमबार ध्यानकर्षण बुझाइएको हो।

महानगरको वडा नम्बर १ मा रहेको सामुदायिक विद्यालय पण्डित रामधेनी तिवारी आधारभूत विद्यालय अहिले आन्तरिक समस्याका कारण बन्द रहेको छ।

यस्तै वडा नम्बर २१ सुखचैना टोलमा रहेको गीता गजेन्द्र जोशी माविमा शिक्षक नभएकोले त्यहाँका विद्यार्थीहरु पनि आन्दोलन गर्दै आएका छन्। यस विद्यालयका विद्यार्थीहरुले केही दिन पहिले विद्यालयमा शिक्षकको कमी भएको भन्दै राजमार्ग नै बन्द गरेर विरोध प्रदर्शन गरेका थिए।

राजमार्ग नै बन्द गरेपछि प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज गरेर राजमार्ग खुलाएको थियो। विद्यालयमा देखिएका यस्ता विविध समस्या समाधानको माग गर्दै ध्यानाकर्षण बुझाएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य जुबेर आलमले जानकारी दिए।

पत्रमार्फत बन्द विद्यालय खुलाउन र शिक्षकको व्यवस्था गर्न माग गरिएको छ। साथै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न पनि माग गरिएको छ।

यस्तै सरकारले तोकेको १० प्रतिशत छात्रवृति लागु गर्नुपर्ने, निजी तथा अवासीय विद्यालयहरुको वर्गीकरण गर्न पनि अनेरास्ववियु क्रान्तिकारीले ध्यानाकर्षण पत्रमार्फत माग गरेको छ।

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्