कांग्रेस प्रदेश अधिवेशनः

६ मध्ये ४ सभापतिमा देउवाको वर्चश्व, इतर समूहमा साझा उम्मेद्वार अझै मुस्किल

काठमाडौँ– सोमबार बिहानसम्म कांग्रेस ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। शुक्रबार सुरु हुने पार्टीको १४औँ महाधिवेशन अन्तरगत प्रदेश २ बाहेक अरु प्रदेशमा अधिवेशन सम्पन्न गरेर कांग्रेस कार्यकर्ता काठमाडौँका लागि हिँड्ने तयारीमा जुटेका छन्।

पहिलोपटक प्रदेश संरचनाका लागि भएको चुनावले १४औँ महाधिवेशनमा सभापतिसहितका उम्मेद्वारमा जित्नका लागि संस्थापन शेरबहादुर देउवा पक्ष र इतरसमूहबीच कडा प्रतिस्पर्धा हुने प्रष्ट संकेत मिलेको छ।

अधिवेशन भएका ६ मध्ये ४ वटा प्रदेशमा संस्थापन पक्षको प्यानल नै जितेको छ। बाँकी दुई मात्रै इतर पक्षले नेतृत्व हात पारेको देखिन्छ।

संस्थापन इतर समूहले अझै पनि सभापतिको साझा उम्मेद्वार तय गर्न सकेको छैन। उम्मेद्वारका विषयमा उक्त समूहभित्र देखिएको किचलोले पक्कै पनि एकभन्दा बढी उम्मेद्वार हुने संभावना बढेको छ।

किनकी महाधिवेशन सुरु हुन जम्मा तीन दिन मात्रै बाँकी रहँदासमेत आकांक्षी नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला आफैँ उम्मेद्वार हुनुपर्ने अडान छाडेका छैनन्।

उनीहरुले सोमबार बेलुका बसेर साझा उम्मेद्वारका बारेमा छलफल गरेका छन्। इतर समूहबाट एकभन्दा बढी उम्मेद्वार हुने वित्तिकै आफ्नै समूहबाट विमलेन्द्र निधि उम्मेद्वार बन्दा पनि दोस्रो कार्यकालका लागि सभापति बन्न देउवालाई बाटो खुल्ने कांग्रेस नेताहरु बताउँछन्।

कुन प्रदेशको अवस्था कस्तो?

प्रदेश १

सोमबार मात्रै सकिएको प्रदेश १ को अधिवेशनले पनि इतर समूहमा मतभेद हुने देखिएको छ। ठूला नेताहरुले नै भोट नदिँदा पौडेल पक्षका गुरु घिमिरेले प्रदेशसभा जम्मा २ मतले हार्न पुगेका छन्।

पौडेल समूहमा भएको ‘असहयोग’को फाइदा उठाउँदै संस्थापन पक्षका उद्धव थापाले ८४४ मतले बाजी मारेका छन्। घिमिरेले ८४२ मत पाएका छन्। नेविसंघको सभापति भएर २०६२/६३ को जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका घिमिरे राष्ट्रिय राजनीतिमै परिचित अनुहार हो।

दुईपटक झापाको जिल्ला सभापति भइसकेका थापाले उनलाई पराजित गर्न सफल भए। प्रदेशका बाँकी पदहरुमा पनि संस्थापन पक्षले नै विजयी हासिल गरेको छ।

गुरुराज घिमिरे।

उपसभापति पदमा संस्थापन पक्षकै रमेशजंग रायमाझी ८९१ र टंकप्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी भएका छन्। महामन्त्रीमा संस्थापन समूहका भुपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापाले ८२३ मत प्राप्त गरी विजयी भएका छन्। सहमहामन्त्रीमा खड्ग फागो, बिनोद बस्नेत र प्रमिला गच्छदारले हात पारेका छन्।

मिघिरेलाई आफ्नै समूहभित्रका नेताहरु शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्यलगायतले भोट नदिँदा पराजय भोग्नु परेको छ। अब प्रदेशको चुनावमा देखिएको असमझदारीको प्रभाव केन्द्रमा पनि पर्ने निश्चित जस्तै छ।

प्रदेश २ः

कांग्रेस प्रदेश २ को अधिवेशन भने स्थगित भएको छ। अब महाधिवेशनपछि मात्रै त्यहाँ अधिवेशन गराउने केन्द्रीय महाधिवेशन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए।

सर्लाही, महोत्तरी र बाराका एक–एकवटा निर्वाचत क्षेत्रबाट प्रतिनिधिको विवाद नसुल्झिएपछि प्रदेश तहको अधिवेशन स्थगित हुन पुगको हो। अधिवेशन स्थगित हुँँदा सभापतिका आकांक्षी विमलेन्द्र निधिको गृहप्रदेश समेत रहेका २ मा उनको शक्तिको परिणक्षण हुन पाएन।

बागमती प्रदेश

बागमती प्रदेशमा संस्थापन पक्षका इन्द्र बानियाँले प्रदेश सभापति जिते पनि कडा टक्कर देखिएको छ। दोस्रो चरणमा कृष्णप्रसाद सिटौला पक्षको समर्थनमा सभापति जितेका बानियाँले १०८५ मत पाए भने पौडेल पक्षका जगदिश नरसिंह केसीले ९२७ मत ल्याए।

पहिलो चरणको मतदानमा देउवा पक्षका बानियाँले ९९२ र पौडेल पक्षका केसीले ८७२ मत पाएका थिए भने सिटौला समूहबाट उम्मेद्वार बनेका भीमसेनदास प्रधानले १८९ मत मात्रै पाएका थिए।

यस हिसाबले बागमती प्रदेशमा सिटौला पक्षको सहयोगले मात्रै संस्थापन पक्षले प्राविधि हिसाबले जित हासिल गरेको देखिन्छ। जसले केन्द्रीय महाधिवेशनको झलकसमेत दिएको छ।

गण्डकी प्रदेश

रामचन्द्र पौडेलको गृहप्रदेश गण्डकीमा उनी पक्षीय शुक्रराज शर्मा सभापतिमा निर्वाचित भएका छन्। संस्थापन पक्षका अर्जुनप्रसाद जोशीलाई पराजित गर्दै पौडेल पक्षका शर्माले प्रदेशसभापति हात पारेका हुन्।

शर्माले ६१२ मत पाएका छन् भने जोशीले ५२८ मत ल्याएका छन्। कांग्रेस केन्द्रीय सदस्य र सांसद भइसकेका जोशी पनि केन्द्रको राजनीतिमा स्थापित भए पनि उनले प्रदेश संरचनामा रुची देखाए।

शुक्रराज शर्मा

अरु पदहरुमा पनि पौडेल पक्षकै उम्मेद्वार विजयी भएका छन्। निर्वाचनमा उपसभापतिद्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्री द्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका छन्। सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशीले जितेका छन्। गण्डकीमा पौडेल पक्ष संस्थापन भन्दा तुलनात्मक रुपमा बलियो देखिएको छ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा पनि पौडेल पक्षका अमरसिंह पुन सभापति भएक छन्। लुम्बिनीमा पनि पौडेल पक्षको संस्थापन भन्दा राम्रो पोजिसन देखिएको छ। पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित हुँदा संस्थापन भरतकुमार शाहले ७६७ मत पाएक छन्।

सार्वजनिक लेखा समितिको सभापति समेत रहेका शाह केन्द्रीय राजनीति छाडेर प्रदेशमा ओर्लिदा ८५ मतान्तरले पराजित हुन पुगे। प्रदेश कार्यसमितिका अरु अधिकांश पदाधिकारी तथा सदस्य पनि पुनकै प्यानलकै निर्वाचित भएको छ।

उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन्। श्रेष्ठले ८४७ मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरे।

महामन्त्रीमा पनि पुन समूहकै विक्रम खनाल र सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्। खनालले ८४४ र आचार्यले ८३९ मत प्राप्त गर्दै विजयी भएका छन्। सहमहामन्त्रीमा पनि पुन प्यानलकै विष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन्।

खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन्। महिला सहमहामन्त्रीमा पनि पुन प्यानलकै नीमा गिरी विजयी भइन्।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा संस्थापन पक्ष बलियो देखिएको छ। प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजंग शाहीले जितेका छन्। शाहीले ४२२ मत ल्याए भने संस्थापन इतर समूहका भुपेन्द्रजंग शाहीले ३ सय १७ मत पाएका छन्।

निधिका तर्फबाट उम्मेद्वार बनेका मोतिराज मबले सात मत ल्याए। कम जनसंख्या भएकाले क्रियाशिल तथा महाविधेशन प्रतिनिधि कम भएको प्रदेश कर्णाली हो। प्रदेश अधिवेशनले त्यहाँबाट संस्थापन पक्षले बलियो साथ पाउने देखिएको छ।

सुदूरपश्चिम प्रदेशः

सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिममा उनको बलियो प्रभाव रहेको प्रदेश अधिवेशनले देखाएको छ। उनी पक्षीय उम्मेद्वारहरुले भारी मतका साथ जितेका छन्। प्रदेश सभापतिमा देउवाका विश्वास पात्र वीरबहादुर बलायर एक हजार ३ मतमध्ये उनले ६८८ मत पाएका छन्।

संस्थापन इतर पक्षका उम्मेद्वार नारायणदत्त मिश्रले जम्मा २८० मत पाए। यस्तै उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले ६१० र अवस्थीले ५२३ मत पाए।

वीरबहादुर बलायर

महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाहले ६४८ र मेघराज खड्काले ६३५ मत पाएर जिते। सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेले पनि देउवा पक्षकै हुन्।

(जिल्ला संवाददाताहरुको सहयोगमा)

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्