किम्फको १९ औँ संस्करणमा ‘जलवायु कर्म’ शीर्षक, २८ देशका ६० भन्दा धेरै चलचित्र प्रदर्शन हुँदै

काठमाडौँ – काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औँ संस्करण मंसिर २३ गतेदेखि हुने भएको छ।

‘जलवायु कर्म’ शिर्षकमा २७ गतेसम्म चल्ने महोत्सवमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेशन गरी विभिन्न २८ देशका ६० भन्दा धेरै चलचित्रको अनलाईन र प्रत्यक्ष प्रदर्शन हुनेछ। कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकोले यस वर्ष केही भौतिक र केही अनलाईन चलचित्र प्रदर्शन हुनेछन्।

किम्फले पछिल्लो समय भईरहेको जलवायु परिवर्तनका प्रभावबारे जानकारी र मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् भन्ने ज्ञान, स्थानीय र विश्वव्यापी रुपमा भईरहेको जलवायु परिवर्तनका प्रतिकुल प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने सन्देश दिन लागेको हो।

महोत्सवमा अनलाइनबाट देखाइने सिनेमाहरू किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सवको अवधिभर हेर्न सक्ने जनाइएको छ ।

किम्फ २०२१ को निर्णायक मण्डलमा स्विस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार तथा सिनेमा निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल छन् ।

यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई दुई लाख रुपैयाँ, दोस्रो हुनेलाई डेढ लाख र तेस्रो हुनेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार रुपैयाँ र उत्कृष्ट सिनेमाले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन सिनेमाले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।

हिमाल एसोसिएसनले आयोजना गर्ने किम्फ २०२१ को सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ भने यसको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्ने भएको छ । यसपटकको किम्फ चावहिलस्थित चलचित्र विकास बोर्डको सभाकक्षमा हुनेछ ।

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्