हुम्लाको विद्यालयमा ‘स्मार्ट शिक्षा’ कार्यक्रम लागू

सिमकोट– हुम्लाको एक विद्यालयमा ‘स्मार्ट शिक्षा’ कार्यक्रम लागू गरिएको छ। शिक्षालाई डिजिटलाइज गर्ने उद्देश्यअनुसार उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

जिल्लाको खार्पुनाथ गाउँपालिकाको मान्धारा माध्यामिक विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीले स्मार्ट शिक्षा कार्यक्रम लागु भएको जानकारी दिए। यो कार्यक्रम अब कक्षा ६ देखि १० सम्म लागू हुने शाहीले बताए। इन्टरनेट नभएका बेला भने अफलाइनबाट कक्षा सञ्चालन गरिने छ।

यस कार्यक्रमका लागि शिक्षकले सानो आकारको मुख्य ल्यापटपबाट टच पेनले पठनपाठन गराउनु पर्नेछ। यसमा एपबाट पाठ्यक्रमका अतिरिक्त श्रव्यदृष्य सामाग्री शिक्षकले डाउनलोड गरेर पठनपाठन गर्न सक्नेछन्।

स्मार्ट शिक्षा कार्यक्रमबाट हाल विद्यालयमा प्रयोग हुँदै आएको ह्वाइट बोर्ड, प्रोजेक्टर, चक, डस्टरसमेत विस्थापित हुने प्रधानाध्यापक शाहीले बताए। नयाँ प्रविधिमा अभ्यस्त हुन शिक्षकहरुले थप मेहनत गर्नुपर्ने उनको भनाइ छ।

शिक्षकलाई प्रविधिबारे पर्याप्त जानकारी नहुँदा बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि भने यो प्रविधि लागू गर्न सकिएको छैन। यसका लागि शिक्षकलाई दुई महिनाभित्र तालिमको व्यवस्था गरिने छ।

यस कार्यक्रमका लागि काठमाडौँ जुसुइत संस्थाले सहयोग गरेको हो। संस्थाबाटै प्राविधिक आएर एप इन्टल गरेका थिए। हाल यसबाट १२५ विद्यार्थी र शिक्षक लाभावन्वित हुनेछन्। उक्त विद्यालय यो प्रविधिबाट पठनपाठन गराउने पहिलो विद्यालय हो।

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्