प्रदेश १ मा किन पराजित भए गुरुराज घिमिरे?

नेपाली कांग्रेसको अधिवेशनले नेता कार्यकर्तालाई मात्र नभएर सर्वसाधारणलाई समेत निर्वाचनको महसुस गराएको छ। राजनीतिमा आफूमाथि उक्लन अधिवेशन, निर्वाचनमा हरेक प्रयत्न गरिन्छ। जसलाई गुट उपगुट, जितहारले बढी भूमिका खेल्ने गर्छ। ६ दशकभन्दा बढी लामो इतिहास बोकेको कांग्रेसमा विगतबाट नै गुट उपगुट देखिएको छ। जसलाई चिर्न न विगतका लिजेण्डरी नेतृत्वले सक्यो, न अहिलेको पुस्ताले। आन्तरिक स्पर्धाले नेता कार्यकर्ता माझ थप खाडल त बनाएन, प्रश्नचिन्ह यतिबेला देखिएको छ।

प्रदेश १ को प्रथम अधिवेशन अन्तर्गत सभापतिको निर्वाचनमा यस्तै अवस्था देखियो। नेविसंघको लामो राजनीतिबाट पार्टीको केन्द्रीय सदस्यसम्म बनेका गुरुराज घिमिरे र झापाका पूर्वजिल्ला सभापति उद्धव थापाबीचको स्पर्धाले शीर्षतहमा कसको पकड बलियो हुने प्रतिस्पर्धा देखियो। यसमा संस्थापन इतर मानिएका घिमिरे २ मतान्तरले पराजित भए। घिमिरेको पराजयले ब्यक्तिगत उनलाई केही वर्षपछि धकेल्ला तर विजयी भएका थापालाई खाडल बढाउने कि पुर्ने चुनौती थपिएको छ।

सभापतिमा पराजित घिमिरेले भने हालको नतिजालाई सहज रुपमा लिएका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार २ मतको हारले पक्कै पनि सकारात्मक सन्देश शीर्षतहमा जाने छैन। घिमिरेको पराजयमा शीर्षतहका नेताको मत नै अन्ततगोत्वा निर्णायक बनेको बताउँदै आचार्यले भने, ‘अहिले केन्द्रतहको उम्मेदवारीका कारण पनि शीर्षतहका नेताहरुले मत नदिएको हुनसक्छ। निर्वाचन समितिसँग उहाँहरु प्रस्ट नहुनु पनि पराजयको कारक बन्यो। यसले सभापतिको आकांक्षीलाई केही न केही हदसम्म क्षति पुर्‍याउनेछ।’

प्रदेश निर्वाचनमा घिमिरेलाई उम्मेदवार बनाएका डा. शेखर कोइराला, सुजाता कोइराला, बलबहादुर केसी, महेश आचार्य, लगायतले मत नहालेपछि त्यसको असर कार्यकर्तामाझ समेत देखिने उनको भनाइ छ। मतदानमा सहभागिता नजनाएपछि डा. शेखर कोइरालाले सामाजिक सञ्जाल मार्फत क्षमायाचना गरे भने महेश आचार्यले समय तालमेल मिल्न नसकेको भन्दै आफ्नो बचाउ गरिरहेका छन्। डा. कोइरालाले समाजिक सञ्जालबाट बचाव गरे पनि धेरै कार्यकर्ताले उनको सन्देशलाई मिश्रित रुपमा लिएका छन्।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे केन्द्रीत तहको नेताले प्रदेशमा मत हाल्न नहुनेमा जोड दिन्छन्। केन्द्रीय तहका नेताले त्यसभन्दा तल मतदान गर्दा विवाद आउनसक्ने बताउँदै केन्द्रीयतहको नाताले सबैतिर मत हाल्दा दोहोरो अधिकार प्रयोग गरेको देखिने उनले प्रस्टाए।

त्यसैगरी, मोरङ जिल्लाका एक पूर्व सचिवले शीर्षतहमा आफ्नो सिट सुरक्षित गर्न प्रदेशमा घिमिरेलाई सहिद बनाएको आरोप लगाए। उनी भन्छन्, ‘कोइराला, आचार्यको जिल्लातहमा भएको गुटको निर्वाचनबाटै कार्यकर्तामा असन्तुष्टि थियो। अब प्रदेशमा आफ्नै उम्मेदवारलाई समेत मत हाल्न नगएपछि, कसरी राजनीतिमा अघि बढ्नु। जिल्लामा अब कांग्रेसलाई झन कठिन छ।’

गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला निवासमा कांग्रेसलाई जीवन्त दिँदै आएका डा. शेखर कोइरालालाई प्रदेशको नतिजाले केही हदसम्म असर पुर्‍याउने बुझाइ राजनीतिक विश्लेषक आचार्य राख्छन्। प्राविधिक रुपमा कोइरालाले आफ्नो निकटलाई जोगाउन नसक्दा असर विपरीत हुन गएको बताउँदै उनले भने, ‘उम्मेदवारीमा केही त्रुटि भएको छ। तर, कांग्रेसमा पसल बढी खुलेका छन्। निवासमा माग्ने धेरै छन्। आफुले मागेको नपाउँदा अर्को पसल पुग्नु स्वभाविक हो। हिजो कोइराला नै सबैथोक भन्नेहरुले अधिवेशनलाई अन्तिम माने अनि रातारात अर्को क्याम्प पुगे।’

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्