भारत पुगेको गैँडा ६ वर्षपछि उद्धार चितवन ल्याइयो

चितवन राष्ट्रिय निकुञ्जको पाेखरीमा आहाल खेल्दै गैँडा । हिउँदको समयमा घाँसे मैदान खुला हुने हुँदा यहि बेला पारेर गैँडा गणना गरिन्छ । तस्बिर : टंक ढकाल/देश सञ्चार (फाइल तस्बिर)

चितवन – बाढीले बगाएर भारत पुगेको एउटा गैँडा नेपालतर्फ आएको मौका पारेर उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जतर्फ ल्याइएको छ ।

भारतीय सीमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका–६ बाट गैँडालाई डाट गरेर बेहोस बनाई सोमबार चितवनतर्फ ल्याइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार अन्दाजी सात÷आठ वर्षको भाले गैँडालाई उद्धार गरी ल्याइएको हो ।

बाढीका कारण भारत पुगेको सो गैँडा यही मङ्सिर १५ गते नेपालतर्फ आएको थियो । नेपालमा उखु, तरकारीलगायत खाद्यान्न बाली खान पल्किएको गैँडा यसअघि तिहारको समयमा केही दिन सोही क्षेत्रमा देखिएको थियो ।

श्रेष्ठका अनुसार त्यतिबेला नियन्त्रणमा लिन खोज्दा भागेर भारततर्फ गएको थियो । ‘नेपालतर्फ आएको मौका पारेर गैँडालाई चितवन ल्याउन लागिएको हो’, श्रेष्ठले भने, ‘विसं २०७४ वा त्यसअघिका बाढीमा यो गैँडा बगेर भारत पुगेको हो ।’

श्रेष्ठकै नेतृत्वमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारीसँगै सुरक्षाकर्मीले गैँडालाई उद्धार गरेका हुन् । त्यस क्रममा ६ वटा हात्ती परिचालन गरिएको थियो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडालाई निकुञ्जको पूर्वी क्षेत्रमा छाडिँदैछ । गैँडाको सङ्ख्या कम भएको क्षेत्रमा छाड्न लागिएको हो । सुस्ताको उखुबारीमा गैँडा चरेको देखेपछि स्थानीयवासीले निकुञ्जलाई खबर गरेका थिए ।

सन् २०१७ र २०१८ मा नेपालले भारतका विभिन्न ठाउँमा पुगेका १० वटा गैँडा फिर्ता गरेको थियो । भारत पुगेर आफै नेपालतर्फ फर्किएका तीन गैँडालाई पनि सीमा नजिकैबाट डाट गरेर चितवन राष्ट्रिय निकुञ्ज ल्याइएको थियो ।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्